काठमाडौं- नेपालको संसदीय इतिहासमा सम्भवतः सत्तापक्षले प्रतिपक्षलाई यति ठूलो ‘सरप्राइज’ शायदै दिएको थियो, जुन शनिबार प्रधानमन्त्री केपी ओलीले दिएका छन्।
अर्थात्, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगका लागि झण्डै आधा आधा भागबण्डा पाइन्छ भन्ने कल्पनै नगरी बालुवाटार छिरेका कांग्रेस नेताहरु आ आफ्ना मान्छेको नाम सिफारिश गराउन सकेकोमा पूरै सन्तुष्ट भएर फर्किएका छन्।
यो मामिला मात्र होइन, शनिबार प्रधानमन्त्रीले जे अभिव्यक्ति दिए, त्यसले आगामी अवसरका सन्दर्भमा पनि राम्रो सम्भावनाको संकेट गरेको बुझिन्छ।
त्यहाँ ओलीले भनेका थिए, ‘सबैतिर अलपत्र छ। सब कुरा मैले सहमतिका लागि रोकेर राखेको छु। विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, रेक्टरहरु खाली छन्। म हामी मात्रै लिऊँ भन्दिन, मिलेरै जाऔँ भन्नेमा छु।’
देउवाको दुखेसो थियो, ‘तपाईंहरुलाई सहयोग गर्दागर्दै म बर्बाद भइसकेँ यार !’
प्रमले के भयो? भनी सोध्न खोज्दाखोज्दै शेरबहादुरले वाक्य नरोकी भने, ‘बाहिरका मान्छेले मलाई प्रतिपक्षी राम्रो भएन, केही लछारपाटो लगाउन सकेन भन्छन्। पार्टीभित्रै संसदमा पनि केही भूमिका खेल्न सकेन भनेर सराप्छन्। पार्टी नै छैनजस्तो, गतिविधि देखिएन भन्दै मेरो विरोध छ। म चाहीँ खुरुखुरु भनेको मानेर सघाइरहेको छु। तपाईंहरु चाहीँ मलाई पेल्नुहुन्छ।’
देउवाले ‘म त वर्बाद भइसकेँ यार…’ भन्दै आफ्नो विवशता, निरीहता र आफू कमजोर हुँदाको वास्तविकता यसरी खुलासा गरेपछि प्रम ओलीले उदारता देखाएका खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।
त्यसपछि देउवाले प्रस्ताव गरेको सुदूरपश्चिम भेगका गणेश दत्त भट्टको नाम सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रमुखमा पारित भयो।
प्रतिक्रिया