+
Search

ताजा अपडेट +

पपुलर +

अग्नि सापकोटा ‘हेड सर’देखि सभामुखसम्म

4KNationalDaily
२०७६ माघ १२, आईतवार १६:१४ बजे

काठमाडौं– अग्नि सापकोटा नयाँ सभामुख चयन भएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उनलाई सभामुख चयन गरेको हो। सभामुखमा उनको एकल उम्मेदवारी थियो।

नेकपाका सांसद सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए।

‘जुन सदनको कल्पना गरेका छौं। संसदले जुन भूमिका निर्वाह गर्नुपर्छ भन्ने हामीले कल्पना गरेका छौं। उहाँले त्यो भूमिका निर्वाह गर्नुहुन्छ भन्ने विश्वासका साथ उहाँको नाम प्रस्ताव गर्दछु’, नेम्वाङले भने।

प्रस्तावका समर्थनमा देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण, ओनसरी घर्तीले बोलेका थिए। सापकोटाले संसदलाई तटस्थ, जनपक्षीय र सन्तुलित ढंगले सञ्चालन गर्ने विश्वास व्यक्त गरिन्।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस नेता मीनेन्द्र रिजालले पनि सम्बोधन गरेका थिए।

उनले कांग्रेस संसदीय दलको निर्णय पढेर सुनाएका थिए। सभामुख पद तटस्थ रहनुपर्ने पद भएकाले आफ्नो दलले समाभुखमा उम्मेदवारी नदिएको बताए।

कांग्रेसले उपसभामुख पदमा बार्गेनिङ गरेर उम्मेदवारी नदिएको भन्ने चर्चाको खण्डन गरे।

उनले सभामुख र उपसभामुख पद फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले कांग्रेस कमण्डलु लिएर उपसभामुख पद माग्न संसदमा प्रस्तुत नहुने उनले बताए। ‘हामीसँग मत पनि छैन। कमण्डलु लिएर माग्दैन’, रिजालले भने।

उनले सापकोटाका विगत भन्दा आगत महत्त्वपूर्ण हुने बताए। सभामुखमा सापकोटाको एकमात्र प्रस्ताव परेकाले सभाको अध्यक्षता गरेका महन्थ ठाकुरले उनलाई निर्विरोध सभामुख भएको घोषणा गरेका थिए।

उनले सापकोटालाई व्यक्तिगत र सभाको तर्फबाट बधाई दिए। प्रतितिधिसभाको अर्को बैठक माघ १४ गतेका लागि बोलाइएको छ।

कुबिन्डेदेखि संसद् सचिवालयसम्म

स्थानीय सापकोटा परिवारमै प्रधानाध्यापक हुने पहिलो व्यक्ति र विद्रोही स्वभावका कारण पनि उनी उक्त क्षेत्रका धेरैसँग परिचित थिए।

सानैदेखि आफ्नै घरमा पनि विद्रोही स्वभाव देखाउने सापकोटा विद्यालयमा पनि त्यही व्यवहार देखाउँथे।

जनयुद्धकालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को ताम्सालिङ राज्यको नेतृत्वमा रहेका सापकोटा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र हुन्। जनयुद्धदेखि शान्तिवार्तासम्म सापकोटा दाहालसँग निकट थिए।

अप्ठेरो परिस्थितिमा दाहाल परिवारलाई नै साथमा लिएर ‘सुकुटे बिच’ जाने गर्दथे उनी। सुकुटे बिचको व्यवस्थापन सापकोटाले नै मिलाउने गरेका थिए। यसपटक प्रचण्डले सोही गुन फर्काएका छन्, सभामुख बनाउन लागी परेर।

साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी सापकोटा पछिल्लो २०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भए।

२०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक गरी २ वर्ष जेल जीवन बिताएका छन्।

२०४८ सालमा संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका उनी पराजित भएका थिए। ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्यसमेत थिए।

समाजशास्त्रका स्नातकोत्तर सापकोटाले साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष शिक्षण अनुभव छ। उनी शिक्षक राजनीतिमा पनि सक्रिय थिए।

द्वन्द्वकालमा प्रधानाध्यापक छोडेर उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए। ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत नै थिए।

सापकोटा २ पटक मन्त्रीसमेत भइसकेका नेता हुन्। सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन्।

उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पनि विचाराधीन छ। संवैधानिक इजलासमा काभ्रेपलान्चोकका अर्जुन लामाको हत्या आरोपमा अनुसन्धान माग गर्दै दायर भएको मुद्दा केही वर्षदेखि विचाराधीन छ।

समय रेखामा सापकोटा

जन्म मिति/स्थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डे
आमाको नामः तिलमाया सापकोटा
बुबाको नामः धनपति सापकोटा

स्थायी ठेगानाः चौतारा साँगाचोकगढी नगरपालिका ४, सिन्धुपाल्चोक
शैक्षिक योग्यता: स्नातकोत्तर, त्रिभुवन विश्वविद्यालय
पारिवारिक स्थितिः श्रीमती, तीन छोरा

पेशा र अनुभवः

१५ वर्ष अध्यापन (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)

पार्टी सदस्यता

२०३५ सालमा नेकपा (चौथो महाधिवेशन)

पार्टी जिम्मेवारीः

स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

राजकीय जिम्मेवारीः

२०६४ – चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याइ निर्वाचित । देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेदवार । संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशाील ।

२०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचार मन्त्री

२०७० – सिन्धुपाल्चोक २ बाट दोस्रोपटक संविधान सभा सदस्यमा निर्वाचित, तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा(माओवादी) बाट विजयी एकमात्र सांसद ।

२०७३ – नेपाल सरकारका वन तथा भू–संरक्षण मन्त्री

२०७४ – प्रतिनिधि सभा सदस्यमा विजयी, सिन्धुपाल्चोक–१, लगातार तीनपटक संसद सदस्यमा विजयी

संक्षिप्त राजनीतिक जीवन
२०२९ – सालमा विद्यार्थी संगठनमा आवद्व,

२०३५ – पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन)

२०३७ – शिक्षक संघर्ष समितिको सदस्य (ने.रा.शि.सं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्ष,

२०४८ – शिक्षकबाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सकृय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य

२०५१ – नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत,

२०५२ – फागुनबाट सुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रीय व्यूरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनवाट पोलिट्व्युरो सदस्यमा निर्वाचित,

२०५८ – पार्टीबाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी

२०६२ – चैत १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाँउमा लागि गम्भीर घाइते

२०६२/२०६३ – दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनता परिचालनको नेतृत्व

२०६९ – माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौडा महाधिवेशनबाट पोलिट्व्युरो सदस्य

२०६९ – साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता

२०७१ – मा भएको विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्य

२०७३ – नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य

२०७५ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य

२०७६ – सभामुखमा निर्विरोध निर्वाचित

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily