काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बुधबार (आज)देखि सुरु हुँदैछ।
बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्न लागेकाे हाे। पार्टी एकतापछि केन्द्रीय कमिटीकाे याे दोस्रो बैठक हाे।
केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन्। पार्टी कार्यालयको हलमा सबै अट्न सम्भव नभएकाले सभागृह बुक गरिएको नेकपाले जनाएकाे छ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन्।
विधानअनुसार ६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीले गरेका निर्णय पनि अनमुमोदन हुनेछन्।
तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएपछि दोस्रो पटक बस्न लागेकाे याे बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ।
विधान संशोधन भएपछि वामवेद गौतम उपाध्यक्ष हुनेछन्।
मंगलबार बसेकाे नेकपा सचिवालय बैठकले बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ। सचिवालय बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटीमा पेस गरिने एजेन्डाबारे जानकारी दिएका हुन्। उनका अनुसार बैठकका कार्यसूची निम्नानुसार छन्:
० सहिदहरुप्रति श्रद्धाञ्जली
० अध्यक्ष केपी ओलीले बैठकको उद्घाटन र मन्तव्य
० अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने
० महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने
० सात वटै प्रदेशमा प्रदेश अध्यक्षहरुले सांगठनिक रिपोर्ट आफ्नो प्रदेशका तर्फबाट प्रस्तुत गर्ने।
० समसामयिक प्रस्तावहरु (अहिलेका तत्कालीन विषयहरु)
० विविध
प्रतिक्रिया