काठमाडौं- अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदान सम्झौतामाथि पार्टी नेताहरूले चर्को संशय व्यक्त गरिरहेका बेला नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा भने त्यसबारे मौनता साधिएको छ।
अध्यक्ष ओलीले उद्घाटन भाषणका क्रममा एमसीसीबारे बोले पनि प्रतिवेदनमा त्यसलाई प्रवेश गराइएको छैन । अमेरिकाले अघि सारेको ‘इन्डो-प्यासिफिक रणनीति’ (आईपीएस) माथि भने आक्रामक टिप्पणी गर्दै यसलाई चीन घेर्ने रणनीतिका रूपमा व्याख्या गरिएको छ।
एमसीसी अमेरिकाको सैन्य रणनीतिको अंग भएको र त्यो सहयोग स्विकारे सैन्य गठबन्धनमा सामेल भएको अर्थ लाग्ने वा हुनुपर्ने भन्दै नेकपाभित्र सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने तीव्र विवाद छ।
यसअघि स्थायी कमिटी बैठकमा यही विषयमा अध्यक्षद्वय ओली र दाहालले निकै प्रश्न सामना गरेका थिए । तर प्रतिवेदनमा ‘एमसीसी’ उल्लेख नै नगरी अमेरिकासँग हुने विकास साझेदारीको मोडल प्रस्तुत गरिएको खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्।।
‘नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखी संयुक्त राज्य अमेरिकालगायत संसारका सबै देशसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न नेपाल तत्पर रहेको छ,’ प्रतिवेदनमा भनिएको छ।
सैन्य रणनीतिका रूपमा नेपालमा आउने कुनै पनि आर्थिक र राजनीतिक सहयोग प्रस्ताव स्वीकार्य नहुने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया