काठमाडौं- गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सत्तासीन नेकपाका सांसदहरूले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।
लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन, खरिदबिक्री र ओसारपसारमा प्रतिबन्ध लगाएको छ।
सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदले लेखेका छन्।
मुलुकलाई आर्थिक रूपमा सक्षम बनाउन, प्राकृतिक उपचारका लागि औषधि उत्पादन गर्न, किसानको जीवनस्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न गाँजामाथिको प्रतिबन्ध फुकाउनुपर्ने सांसदहरूको माग छ।
प्रस्तावमा पूर्वसभामुख ओनसरी घर्तीमगर, जनार्दन शर्मा, पम्फा भुसाल, जयपुरी घर्ती, नवराज सिलवाल, धर्मशिला चापागाईं, झपट रावल, गणेश ठगुन्ना, नारदमुनि रानालगायतले समर्थन गरेका छन्।
सन् १९७० को दशकमा भाँगो तथा गाँजामाथि प्रतिबन्ध लगाउन नेतृत्व गरेका अमेरिका, क्यानाडा, जर्मनीलगायतका देशले नै गाँजामाथिको प्रतिबन्ध फुकुवा गरिसकेको प्रस्तावमा उल्लेख छ।
नेपालको भूबनोट गाँजा उत्पादनका लागि उर्वरभूमि भएकाले यसको वैधानिक उत्पादन र बिक्रीवितरणबाट मुलुकमा ठूलो विदेशी मुद्रा आर्जन हुने सांसदहरूको तर्क छ।
प्रतिक्रिया