काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई पछौटेपनबाट सम्पन्नतातिर अघि बढाएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले वसन्तपञ्चमीको अवसरमा शुभकामना व्यक्त गर्दै उक्त कुरा बताएका हुन् ।
उनले शुभकामना सन्देशमा सरकारले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर र अव्यवस्थाबाट सदाचारतिर अघि बढाउँदै लगेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले समाजमा सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेकामा जोड दिएका छन् ।
उनले जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताउँदै वैदिक कालदेखि नै प्रज्ञाप्रकाशको प्रतीकका रुपमा सरस्वती पूरा गरी मनाइँदै आएको यस पर्वका अवसरमा काव्यविनोदी स्रष्टा, सर्जक, साहित्य, सङ्गीत, कला साधक तथा ज्ञानका अध्येतामा समेत शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘वैदिक मान्यताअनुसार सरस्वतीका शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिन्छ, त्यसैले उनको वीणाबाट ब्रह्माण्डमा स्वर, सङ्गीत, ताल र लयको, शब्दबाट ज्ञानको र अक्षरबाट भावको उत्पत्ति भएको मानिन्छ, सभ्यताको विकासक्रमसँगै सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीका नामले समेत पूजा गर्ने गरेका छन्, यसरी असल वा खराबको पहिचान गर्ने प्रकाशमय बुद्धि, संयम र विवेकको प्रतीकका रुपमा सरस्वतीलाई लिइन्छ ।’
प्रतिक्रिया