काठमाडौं- अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको बिहे फागुनमा हुने भएको छ ।
उनीहरूले आगामी फागुनमा बिहे गर्न लागेको एक गोप्य स्रोतले जनाएको छ । तर उनीहरुको बिहेको आधिकारिक मिति भने तय भएको छैन ।
विगत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मानको इन्गेजमेन्ट भइसकेको छ । गत असारमा हुने भने पनि परिवारको समय नमिलेका कारण बिहे हुन सकेको थिएन ।
गत मंसिरमा अभिनेत्री ऋचा शर्माको बिहेको पार्टीमा प्रियंकाले यो वर्ष बिहे नहुने बताएकी थिइन् । फिल्म ‘कथा काठमाण्डू’को सेटमा पहिलो पटक भेट भएका प्रियंका र आयुष्मानको त्यही बाट प्रेम सम्बन्ध सुरु भएको थियो ।
प्रियंका र आयुष्मानले पछि मात्रै आफूहरू प्रेम सम्बन्ध रहेको स्वीकार गरेका थिए । पछिल्लो समयमा प्रियंका र आयुष्मानले फिल्ममा सँगै काम गर्दै आएका छन् । प्रियंकाले केही हप्तापहिला साथीहरूलाई थाइल्याण्डमा ब्याचलर पार्टी दिएकी थिइन् ।
प्रतिक्रिया