कास्की – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई गतिशील बनाउँदै जनताको सेवामा लाग्नुको कुनै पनि विकल्प नभएको बताएका छन् ।
पार्टी निकट राष्ट्रिय युवा सङ्घ कास्कीको भेलालाई बुधबार पोखरामा सम्बोधन गर्दै उनले बाँकी तीन वर्षसमेत पूरै काम गर्न पाउने अवस्था नरहेकाले पार्टी, जनसङ्गठन र जनताबीचको सम्बन्धलाई सुदृढ बनाउँदै विकास निर्माणका कामलाई नयाँ ढङ्गले गति दिनुकाे विकल्प नभएकाे बताएका हुन् ।
उनले भने, ‘सरकारको दुई वर्ष बित्यो, तीन वर्ष पूरा काम गर्न पाउने स्थिति छैन, अन्तिम वर्षमा फेरि चुनाव लाग्छ । दुई र बढीमा साढे दुई वर्षको अवधिमा अब एक दिन पनि गुमाउने स्थिति हामीलाई छैन।’
भर्खरै सम्पन्न केन्द्रीय कमिटीको बैठकले तीन महिने कार्ययोजना बनाएको जानकारी दिँदै उनले पार्टी, सरकार र जनताको सम्बन्धलाई जीवन्त बनाउने, लोकप्रिय नीति, कार्यक्रम र बजेट ल्याएर जनताको मन छुने ढङ्गले पार्टी अघि बढ्ने स्पष्ट पारे ।
बैठकले पार्टी एकीकरणमा ढिलाइ हुँदा उत्पन्न मनोविज्ञान, चिन्ता र अन्यौलको स्थितिलाई समाप्त पारेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘ढिलै भए पनि हामीले अन्याेलको स्थितिलाई सफलता र उत्साहका साथ चिरेका छौँ, राम्रो अन्तरघुलनसहित सबै निर्णयहरु एकमत र सर्वसम्मतले गरेका छौँ, अब अगाडि बढ्नलाई केही रोकावट छैन ।’
प्रतिक्रिया