+
Search

ताजा अपडेट +

पपुलर +

कुशलको कीर्तिमान : अमेरिकालाई हराउँदै घरेलु मैदानमा ऐतिहासिक जित

4KNationalDaily
२०७६ माघ २५, शनिबार १७:३२ बजे

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले अमेरिकालाई पराजित गरेको छ।

१९१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अमेरिकाले ४४.१ ओभरमा सबै विकेटको क्षतिमा १५५ रन मात्रै बनाएपछि नेपालले ३५ रनले पराजित गरेको हो।

सुरुवातमै दबाबमा आएको अमेरिकाले १०.१ ओभरमा २७ रन बनाउँदा सुरुवाती पाँच विकेट गुमाएको थियो।

अमेरिकाको अग्रपंक्तिका ब्याट्सम्यानलाई सस्तैमा समेट्ने क्रममा नेपालका सुशन भारी, सन्दीप लामिछाने र करण केसीले उत्कृष्ट बलिङ गरे।

एकपछि अर्को विकेट गुमाइरहे पनि अमेरिकाका इयन होल्यान्डले भने टिकेर रन बटुली रहे। उनले ७५ रन बनाए। ४०.४ ओभरमा उनलाई करणले आउट गरेपछि नेपालको जित सम्भव भएको हो।

त्यस्तै, अमेरिकाका क्यामरन स्टेभनसनले १९ र करिमा गोर र रुस्टी थोरनले समान १०–१० रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक नै बटुल्न सकेनन्।

कुशलको विश्व रेकर्ड

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्दै ४९.२ ओभरमा सबै विकेटको क्षतिमा १९० रन बनाएपछि अमेरिकाले सामान्य लक्ष्य पाएको थियो।

छैटौं नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्ल र सातौं नम्बरमा आएका विनोद भण्डारीले उकासे नेपाली पारी सम्हाले।

कुशल र विनोदले ८४ रनको साँझेदारी गर्दै नेपाललाई उकासेका थिए।

कुशल छैटौं विकेटको रुपमा ५० रन बनाएर आउट हुँदा नेपालको स्कोर १३३ पुगेको थियो। कुशलले ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily