+
Search

ताजा अपडेट +

पपुलर +

बालुवाटार जग्गा: उच्चपदस्थलाई जोगाउन गृह नै लाग्याे यसरी, तल्लो तहका कर्मचारीविरुद्ध मात्र जाहेरी

4KNationalDaily
२०७६ फाल्गुन ३, शनिबार ०९:३० बजे

काठमाडौं- बालुवाटारको एक सय ३६ रोपनी सरकारी जग्गा हिनामिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही उच्चपदस्थ व्यक्तिलाई जोगाएको भनेर आलोचना भइरहेका वेला प्रहरीको अनुसन्धानमा समेत उच्चपदस्थलाई जोगाउन चलखेल सुरु भएको छ।

मुद्दालाई कमजोर बनाउन गृह मन्त्रालयबाटै चलखेल भएको हो।

जग्गा हिनामिनामा संलग्न उच्चपदस्थ व्यक्तिविरुद्ध किटानी जाहेरी नदिएर गृहले मुद्दालाई प्रभावित गर्न खोजेको छ।

स्रोतका अनुसार गृहले तल्लो तहका कर्मचारी र केही बिचौलियाविरुद्ध मात्र प्रहरीमा किटानी जाहेरी दिएको छ।

यस्तो जाहेरी आएपछि अनुसन्धानमा आबद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अन्योलमा परेको छ।

आफूहरूले बुझाएको प्रतिवेदनभन्दा फरक किसिमको किटानी जाहेरी आएकाले अनुसन्धानमा अन्योलता भएको ब्युरोका एक अधिकारीले बताए।

गृहले ठगीसम्बन्धी मुद्दामा कारबाही गर्न प्रहरीमा जाहेरी दिएको हो। तर, गृहको जाहेरीसँग प्रहरी सन्तुष्ट छैन।

गृहको जाहेरीअनुसार उच्चपदस्थ व्यक्तिहरूले उन्मुक्ति पाउने अवस्था भएपछि सिआइबी अन्योलमा परेको हो।

सिआइबीले करिब दुई सयजनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन तीन साताअघि गृह मन्त्रालयमा बुझाएको थियो। तर, करिब ५० जनाविरुद्ध मात्र किटानी जाहेरी प्रहरीमा परेको छ।

जसमा राजनीतिक नेतृत्व मात्र होइन, उच्चपदस्थ कर्मचारीलाई समेत उन्मुक्ति दिने प्रयास भएको छ।

स्रोतका अनुसार यो प्रकरणमा मुछिएका पूर्वसचिव तथा सहसचिवविरुद्ध जाहेरी दिइएको छैन। मालपोत, नापी, नेपाल समरजंग कम्पनी र गुठी संस्थानका तल्लो तहका कर्मचारीविरुद्ध मात्र जाहेरी परेको खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

त्यस्तै, बिचौलियाहरू शोभाकान्त ढकाल तथा रामप्रसाद सुवेदीविरुद्धसमेत जाहेरी परेको छ।

राणा परिवारविरुद्ध पनि गृहको जाहेरी छ। जग्गा बकस लिनेविरुद्धसमेत जाहेरी नपरेपछि सिआइबीका अधिकारी निराश भएका छन्। गृहसचिव महेश्वर न्यौपानेले प्रहरीमा जाहेरी दिएका हुन्।

जसमा उनले उच्चकर्मचारी नेतृत्वलाई जोगाउने प्रयास गरेका छन्।

जाहेरी नपरेका व्यक्तिमाथि समेत अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने पक्षमा सिआइबीका अधिकारीहरू छन्।

आफूहरूकै अनुसन्धान प्रतिवेदनका आधारमा थप व्यक्तिमाथि अनुसन्धान गरेर मुद्दा दायर गर्नुपर्नेबारे छलफल भइरहेको स्रोत बताउँछ। सिआइबीले ठगी र किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily