काठमाडौं- नायिका ऋचा शर्मा अहिले टिभी रियालिटी शो ‘द कमेडी च्याम्पियन’ मा जज छिन् । नेपालकै पहिलो कमेडी रियालिटी शोमा उनीसहित सन्तोष पन्त, प्रदीप भट्टराई, मनोज गजुरेलको जज प्यानल छ ।
कमेडी च्याम्पियनले लोकप्रियता हासिल गर्नुको प्रमुख कारण त यसका प्रतिस्पर्धीहरुको स्तर नै हो । अर्को सहायक कारण चाहिँ जजहरु पनि हुन् ।
चारै जना जजहरुको सटिक मूल्याङ्कन गर्ने क्षमता छ तर शैली आ–आफ्नै छ । अन्य रियालिटी शोमा जस्तो जजहरुमाथि यसमा प्रश्न उठेको छैन ।
सुरुमा ऋचालाई जजको स्थानमा देख्दा कतिपयले प्रश्न उठाएका थिए, के आधारमा उनी कमेडी शोको जज? तर, ऋचाले आफूमा स्ट्यान्ड अप कमेडीको मूल्याङ्कन र विश्लेषण र्ने क्षमता रहेको प्रमाणित गरिसकेकी छन् । कहिलेकाहीँ सामान्य गल्तीहरु त भइ नै हाल्छन् ।
यहाँ प्रसंग चाहिँ गत हप्ताको एपिसोडको हो, जहाँ हिमेश पन्तको प्रस्तुतिमाथि मत जाहेर गर्ने क्रममा ऋचाले भनिन्, ‘कण्डमलाई टोपी होइन, कण्डम नै भन्नुस् ।’
हिमेशले गत साता कण्डमको प्रसंग निकालेका थिए । तर, उनले कण्डम नभनी सांकेतिकरुपमा ‘टोपी’ भने । यो कुरा ऋचालाई चित्त बुझेनछ । उनले हिमेशको प्रस्तुतिको चर्चा गर्ने क्रमममा सोधिन्, ‘तपाईंले किन कण्डमलाई टोपी भन्नुभयो?’
हिमेशले उत्तर दियो, ‘मलाई सँधै कमेडीमा छाडा शब्द बोल्यो भनेर आरोप लाग्छ, त्यसैले ।’ अनि ऋचाले सम्झाउँदै भनिन्, ‘अहँ, यो ठिक भएन । कण्डमलाई टोपी होइन, कण्डम नै भन्नुस, यही राम्रो सुनिन्छ ।’
प्रतिक्रिया