काठमाडाैं- समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन् ।
शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन बिथोल्न स्व. गिरिजाप्रसाद कोइरालाले माओवादीलाई आग्रह गरेको बताएका हुन् ।
१२ बुँदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजी ढंगले अघि बढ्ने सहमति भएको उनले बताए ।
उनले भने ‘उहाँ (प्रचण्ड) को बानी नै सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने बानी छ । उत्तेजना फैलाउने स्वभाव छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ । मलाई याद छ । उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो । पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन । हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ(गिरिजा) ले ठोक्नुपर्याे भनेर चाहीँ भन्नुभएको हो । लौ न कारवाही अगाडी बढाउनुपर्याे उहाँले भनेको हो म पनि साँक्षी थिए । नगरपालिका निर्वाचन विथोल्न फौजी कारवाही बढाउनुपर्याे भन्नुभएको हो ।’
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला ज्युँदै हुँदा नभनेको कुरामा केही भन्न नसकिने प्रतिक्रिया दिए । ‘खोई गिरिजा प्रसाद कोइराला जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन् । बितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने ?’ उनले भने ।
प्रतिक्रिया