बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादीबीच पार्टी एकताका लागि जनयुद्धकालदेखि नै छलफल र लिखित दस्तावेज तयार हुँदै आएको बताएका छन् ।
नेकपा प्रदेश ५ को प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई आइतबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘कमरेड केपी ओलीजी र मैले कुन परिस्थित र पृष्ठभूमिमा पार्टी एकताको पहल गरौं भन्ने निश्कर्षमा पुग्यौं र, संकल्प गरेर चुनावमा जाऔं भन्ने कुरा बुझाउन आवश्यक ठाने मैले । पार्टी एकताको लामो पृष्ठभूमि भन्न परेन अहिले,’ अध्यक्ष प्रचण्डले भने ।
‘एकातिर शान्तिपूर्ण आन्दोलन र अर्कोतिर जनआन्दोलन पनि चलिराखेकै थियो,’ उनले थपे, ‘२०५६ सालदेखि पार्टी एकताका बारेमा हाम्रो छलफल भएको थियो । जुन कुरा सुरक्षाका कारण हामीले तलसम्म जानकारी नदिएको हो । कमरेड केपी ओली र मेरो २०५८ सालमा भेट भएको थियो । त्यस बेला हामीबीच लामै छलफल र वहस चलेको थियो । उहाँ पनि तिखो कुरा राख्ने मान्छे, तिखा कुरा गर्नुभयो । हामी पनि बन्दुक बोकेका मान्छे, तिखो कुरा गर्ने नै भयौं । दुबैले घनीभूतसँग कुरा राख्यौं।’
आफूहरुबीच तीन घण्टासम्म छलफल भएको उनले बताए ।
‘त्यतिबेला तीन घण्टासम्म हामीबीच बहस भएको थियो मैले तपाईंहरुलाई शेयर गर्न चाहें । उहाँले भन्नुभएको थियो, तपाईं त मैले सुनेको भन्दा बेग्लै हुनुहुँदो रहेछ, राष्ट्रिय अन्तरािष्ट्रय परिस्थितबारे पनि सबै भन्नुभयो ।’ प्रचण्डले अगाडि भने, ‘तपाईंका बारेमा पनि मैले जे सुनेको थिएँ, त्यो तपाईंमा पाइनँ, अब म तपाईंका बारेमा बेग्लै धारणा बनाउने छु ।’
उनले त्यस यता विभिन्न रुपमा र विभिन्न ठाउँमा पटक पटक पार्टी एकताका लागि पहल भएको र पछिल्लो चरण २०६३ सालमा काभ्रेको फुलवारीमा दुबै पार्टीका शीर्ष नेताहरुबीच दस्तावेजसहित पार्टी एकताको प्रकृया अगाडि बढाइको बताए ।
जुन छलफलमा तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालदेखि अन्य शीर्ष नेता र तत्कालीन माओवादीका रामबहादुर थापादेखि मोहन वैद्य (किरण) , बाबुराम भट्टराई र विप्लवसम्म सहभागी रहेको अध्यक्ष प्रचण्डले बताए ।
‘माधवजीसँग २०६४ सालको चुनावमा गठबन्धन गरेर चुनाव लडौं भनेर मैले भने कै हो । हामीलाई ५० प्रतिशत तपाईंहरुलाई ५० प्रतिशत सिट बाँडफाँड गरेर चुनाव लडौं । तर उहाँहरुले हामीलाई ४५ प्रतिशत पनि दिन नमानेपछि त्यतिबेला एकता हुन नसकेको हो । तर म आफैले नसोचेको परिणाम २०६४ सालमा आयो,’ उनले भने ।
तत्कालीन समयमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म आफूलाई चाहिने आफ्नो दम्भका कारण पार्टी एकता हुन नसकेको बताए ।
‘त्यति बेला हामी हौसियौं । राष्ट्रपति पनि हामीलाई नै चाहिने, प्रधानमन्त्री पनि हामीलाई सबैथोक हामीलाई नै चाहिने दम्भ हुँदा पार्टी एकताले गति लिन नसकेको हो । पहिलो संविधनसभा निर्वाचनमा जनताले तत्कालीन एमालेलाई पछारिदिए,’ प्रचेडले भने, ‘दोश्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीलाई जनताले एमालको अघिल्लो चुनावको ठाउँमा पछारिदिए । यी यावत कुराको हामीले गम्भीर समीक्षा गरेपछि अब कम्युनिष्टरु एक भएर जानुपर्छ भनेरै पार्टी एकता गरिएको हो ।’
जनयुद्धकालदेखि शीर्ष नेताहरु मिल्दै आए पनि कार्यकर्ताहरु आफू–आफूमा लडेको उनले बताए ।
‘हामीहरु पार्टी एकताका लागि मिलेकै थियौं’ कार्यकर्तातिर इंगित गर्दै उनले भने ,‘बरु तपाईंहरु आफू– आफू लड्नु भए होला वा हामीले तपाईंहरुलाई लडायौं होला ।’
प्रतिक्रिया