काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले मंगलबार प्रतिनिधिसभाकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन गरेकाे तामझामले पूर्वराजा शैलीलाई उछिनेकाे भन्दै व्यंग्य गरेका छन् ।
‘ओलीले जन्मदिन मनाउँदाको शैलीले पूर्वराजाको न्यास्रो मेटाउनु भएको भएछ । उहाँका वरिपरिकाले पनि राजाका भारदारको न्यास्रो मेटाएका छन् ।’
एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न कार्यदल बन्नुले ओली देखिँदा सूरो, यथार्थमा भने विचरो भएको उनले बताएका छन् । अर्काे प्रसंगमा थापाले एमसीसीका विषयमा पार्टी भित्रकै खाँटी राष्टवादीले प्रधानमन्त्री ओलीलाई तह लगाएको पनि बताए ।
‘उहाँ पहिला मार्क्सवादी हुनुहन्थ्यो, बीचमा समाजवादी देखिनु भयो र अहिले जताबाट हेर्दा पनि ‘यती’वादीजस्तो देखिनु भएको छ भनेर तपाईंकै पार्टीका कार्यकर्ताले झिनो स्वरमा हामीलाई भन्ने गरेका छन्,’ उनले भने, ‘संख्या तपाईंसँग होला तर यी कारणले सिङ्गो देश चलाउने वैधानिकता तपाईंसँग छैन् ।’ उनले देशकाे स्वास्थ्य र नेकपाकाे स्वास्थ्यका लागि प्रधानमन्त्रीले आराम गर्नु्पर्ने सुझाव दिए ।
प्रतिक्रिया