काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा अंकित केक काटेर खाएको प्रति नेकपा बागमती प्रदेश ईञ्चार्ज अष्टलक्ष्मी शाक्यले आलोचना गरेकी छन्।
बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको नक्सा अंकित केक काटेर तामझामका साथ मनाइएकोमा आपत्ति समेत प्रकट गरिन्।
बिहीबार दिउँसो राजधानीको यलम्बर पार्टी प्यालेसमा आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्दै उनले जन्मदिनमा केक काटेको विषय उठाएकी हुन्। उनले नेकपामा सामन्ती चिन्तन हावी भएको बताइन्।
‘हाम्रो सोच विचार किन ग्रसित भएका छन्,’भन्दै नेतृत्वलाई प्रश्न गरिन्, ‘ हाम्रो चलन केक काट्ने र वत्ति निभाउने हो।’
प्रशिक्षण कार्यक्रममा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरुले सहभागी रहेकै अवस्थामा उनले यस्तो प्रश्न उठाएकी हुन्।
‘मलाई थाहा छैन, जन्मदिनमा केक काटेर जन्मदिन मनाएको?,’ उनले भनिन, ‘उज्यालो बत्ती निभाएर जन्मदिन मनाउने कुरा कहाँबाट आयो।’
उनले नेपालको नक्सा बनाएर ‘बर्थडे केक’, खानेकुरामा काट्नु आपत्तिजनक भएको बताइन्। शाक्यले जन्मदिनमा केक नकाट्न नेकपा कार्यकर्तालाई आग्रह गरेकी छन्। उनले सरकारमा बस्नुभएका नेताहरुले जनताको भावना बुझ्नुपर्ने बताइन्।
जनताको भावना पूरा गर्न नसक्नेले सरकारमा बस्नुको औचित्य नभएको भन्दै उनले जनताको धारणा बाहिर नजान उनले आग्रह गरिन्।
प्रधानमन्त्री जन्मोत्सव कार्यक्रमलाई लिएर सर्बत्र आलोचना भइरहेको छ। आफूलाई सर्वहारा वर्गको पार्टी दाबी गर्ने कम्युनिस्ट पार्टीको अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले ठूलो खर्च गरी राजसी शैलीमा जन्मदिन मनाउनु शोभनीय नभएको उनले टिप्पणी गरिन्।
प्रतिक्रिया