काठमाडाैं- नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले यति होल्डिङ्स र थामसेर्कु प्रालिलाई नेपाल ट्रष्टको घरजग्गा लिजमा दिने निर्णयमा आफूलाई सुनियोजित रुपमा मुछिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको विहीबार(१५ फागुन) को बैठकमा बोल्दै पूर्वगृहमन्त्री तथा उर्जामन्त्री समेत रहेका नेकपा नेता शर्माले आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली संरक्षक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रष्टले मंगलबार (१३ फागुन) मा स्वेतपत्र जारी गरी निर्णय प्रक्रियामा शर्मा पनि संलग्न रहेको दावी गरेको थियो ।
‘पत्रपत्रिकामा मेरो पनि नाम आएपछि म आफै ट्रष्टमा गएँ, मेरो नाम पनि आयो भनेर तथ्य खोजेँ’ उनले भने, ‘काजजात मागेँ, दराजमा थन्क्याइएको छ भन्ने जवाफ कर्मचारीहरुले दिए । उनीहरुले हजुरको पालामा त्यस्तो निर्णय भएको छैन भन्ने बताए ।’
निवेदन नै दिएर त्यससम्बन्धी कागजात माग गर्दा कर्मचारीहरुले चावी लगाएको दराजमा भएको जवाफ दिएपछि आफूले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेको उनले सुनाए ।
‘म गृहमन्त्री हुँदा उहाँ गृहसचिव हुनुहुन्थ्यो, मैले उहाँसँग त्यस्तो निर्णय भएको थाहा पाइनँ कि भनेर सोधेँ’ उनले भने ‘उहाँले तपाईंको पालामा निर्णय भएको भन्ने कुरा झुठा हो, हजुरको पालामा त्यस्तो निर्णय भएको छैन भन्नुभयो ।’
शर्माका अनुसार, १३ कार्तिक २०७४ मा भएको निर्णयमा आफूलाई मुछिए पनि त्यो बेला आफू गृहमन्त्री नरहेको दावी गरे ।
‘म ३० असोज ०७४ मा गृहमन्त्रीबाट हटेको थिएँ, यस सम्बन्धमा त्यसैदिन पत्रकार सम्मेलन गरेको थिएँ, त्यसपछि विना विभागीय बनाइएको थिएँ’ उनले आक्रोस व्यक्त गर्दै भने ‘कर्मचारीहरुले उहाँको संलग्नता छैन भन्दाभन्दै स्वेतपत्रमा मेरो नाम उल्लेख गरिएको रहेछ ।’
ट्रष्टको अध्यक्षका रुपमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले जारी गरेको ‘स्वेतपत्र’ लाई उनले ‘अस्वेतपत्र’ को रुपमा व्याख्या गरे । उनले भने, ‘स्वेतपत्र हो भने जस्ताको तस्तै आउनु पर्याे, होइन भने त्यसलाई स्वीकार गरिँदैन ।’
प्रतिक्रिया