गोरखा- गण्डकी गाउँपालिका–७ र ८ घ्याल्चोका अवैध बालुवाखानीहरुलाई उत्खनन तथा प्रशोधनजन्य क्रियाकलाप बन्द गराउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
खानी तथा भूगर्भ विभागको स्वीकृत बिनै करोडौं लगानीमा घ्याल्चोकमा मात्र चारवटा खानी सञ्चालनमा छन्। ती खानीहरुलाई मंगलबारबाट उत्खनन् रोकी फागुन २६ गतेसम्म खानी विभागको अनुमति लिन समय दिइएको छ।
गण्डकी गाउँपालिका–७ मा सञ्चालित गोरखा रिसोर्स म्यानेजमेन्ट प्रालि, ८ नम्बर वडाको कुडुलेमा सञ्चालित घ्याल्चोक सिद्घि दर्शन सप्लायर्स प्रालि, सोहि वडाको गोरखकाली स्याण्ड वास प्रालि र सुजोश कन्स्ट्रक्सन प्रालिद्वारा सञ्चालित खानीहरुलाई उत्खनन् र प्रशोधन नगर्न मंगलबार पत्राचार गरिएको हो। स्थानीय प्रहरीको रोहबरमा कवुलियत नाम गराइ उत्खनन् रोक्न भनिएको हो।
‘उत्खनन कार्य आजैबाट बन्द गर्न भनेका छौँ, त्यहाँ भएका सामाग्रीहरुको व्यवस्थापन गर्न पनि समय दिएका छौँ, ’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘फागुन २६ गतेसम्म खानी तथा भूगर्भ विभागको अनुमति लिने समयावधि पनि तोकिएको छ, तोकिएको समयावधिमा स्वीकृत नलगे स्वतः बन्द हुने भयो।’
गत माघ २० गते विभागले अवैध रुपमा सञ्चालित बालुवा खानीहरुको सम्बन्धमा के कसो भएको हो छानबिन गरी कारबाही गर्न प्रशासनलाई पत्राचार गरेको खबर अाजकाे कान्तिपुर दैनिकमा हरिराम उप्रेतीले लेखेका छन्।
माघ २६ गते पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वीकृत बिना सञ्चालित खानीहरुको सम्बन्धमा छानबिन गरी कागजात उपलब्ध गराउन भनेको थियो।
अघिल्लो शनिबार प्रशासनका अधिकृत हर्क रोका नेतृत्वको टोलिले खानीहरुको अनुगमन गर्यो। अनियन्त्रित तवरले सञ्चालित खानीहरु स्वीकृत बिनै सञ्चालन भएको अनुगमन टोलिको ठहर छ।
गण्डकी गाउँपालिकाको फागुन ८ को कार्यापालिका बैठकले १५ दिनभित्र सञ्चालकलाई खानी तथा भूगर्भ विभागबाट स्वीकृत ल्याउन भनेको थियो। अन्यथा सञ्चालित खानीहरु बन्द गर्ने गाउँपालिकाको निर्णय छ।
गाउँपालिकाले दिएको समय सिमा २६ फागुनमा सकिदै छ। तर हालसम्म कुनै खानीले खानी विभागसँग स्वीकृति ल्याएका छैनन्।
अटेर गरी खानी सञ्चालन गरे मुलुकी अपराध संहिता २०७४ लगायतका प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रतिक्रिया