काठमाडौं- राष्ट्रियसभाका नयाँ सदस्य नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा गर्ने आन्दोलन आवश्यक रहेकाे बताएका छन्।
नव सदस्यको रुपमा आजको बैठकमा सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्वमा आचरणयुक्त व्यवहार आवश्यक रहेको बताए।
‘राजनीतिक प्रणालीका निम्ति हामीले संघर्ष गर्यौं। त्यो क्रियान्वयनको चरणमा छ। त्यसलाई प्रभावकारी ढंगले क्रियान्वयन गर्न राजनीतिलाई सफा गर्ने आन्दोलन आवश्यक छ’, श्रेष्ठले भने, ‘हाम्रो लोकतान्त्रिक मूल्य मान्यता अनुसार अगाडि बढ्नुपर्ने आवश्यकता छ। संविधानले निर्दिष्ट गरेको समाजवादको बाटोमा अगाडि बढ्नु आवश्यक छ।’
उनले राजनीतिक नेतृत्व दृष्टिकोण, मूल्यमान्यता र जीवनदर्शनमा लोकतान्त्रिक हुनुपर्ने र भ्रष्टीकरणको प्रक्रियाबाट बचाउनुपर्ने बताए। ‘हामीले जिम्मेवारी पाएका छौं भने देशलाई फेर्नका निम्ति जिम्मेवारी पाएका छौं। तर हामी ठूला भएका होइनाैं’, उनले भने।
श्रेष्ठले आफूहरुले सत्ता, सुविधा या साधन स्रोतको पछाडि लाग्ने काम गर्ने हो भने यो राजनीतिक प्रणालीकाे लक्ष्य पूरा हुन नसक्ने बताए।
‘त्यसकारण राजनीतिलाई सफा गर्ने आन्दोलनमा लाग्न र वैचारिक स्खलनयुक्त भ्रष्टाचारको प्रवृत्तिबाट मुक्त रहेर अगाडि बढ्न पनि सबैलाई अपिल गर्न चाहन्छु’, उनले भने।
श्रेष्ठले राजनीतिक प्रणालीमा ठूलो सुधार गरिए पनि त्यसलाई कार्यान्वयन गर्न यसको मूल्य मान्यता आत्मसात् गरेको नेतृत्व आवश्यक हुने बताए।
‘हामीले राजनीतिक प्रणालीमा धेरै परिवर्तन गर्यौं। त्यसमा संघर्ष गर्यौं। तर त्यही लोकतान्त्रिक प्रणालीले माग गरेको अनुसार हामीले आफ्नो दृष्टिकोण, मूल्य मान्यता, आचार संस्कृति व्यवहारमा अभ्यास गर्न सकेनौं, हाम्रो नेतृत्वले त्यस्तो स्थिति देखाउन सकेन भने राजनीतिक प्रणाली क्रियान्वयनमा जाँदैन। त्यो कमजोर भएर जान्छ’, उनले भने।
आफ्नो सम्बोधनमा श्रेष्ठले नेपाली इतिहासदेखि यहाँको विकास सम्भावनासम्मको वर्णन गरेका थिए।
भिडियाे
प्रतिक्रिया