+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रियसभामा नवनिर्वाचित सांसदले लिए सपथ, यी हुन् नवनिर्वाचित सांसद

4KNationalDaily
२०७६ फाल्गुन २१, बुधबार १९:२२ बजे

काठमाडौं- राष्ट्रिय सभामा निर्वाचित १८ जना सांसदले बुधबार पद तथा गोपनीयताको सपथ लिएका हुन्।

नवनिर्वाचित सांसद्हरूलाई बिहान ११ बजे संसदकाे ल्होत्से हलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ गराएका हुन्।

माघ ९ मा भएको निर्वाचनमा नेकपाका १६ र राजपाका दुई सांसद निर्वाचित भएका थिए। कांग्रेसले भने एक सिट पनि जित्न सकेन।

यी हुन् नवनिर्वाचित सांसद :

नेकपाबाट निर्वाचित गोपी अछामी, इन्दिरा गौतम, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, गंगाकुमारी वेल्वासे, वेदुराम भुषाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, गोपाल भट्टराई, बिमला घिमिरे, जगप्रसाद शर्मा, मायाप्रसाद शर्मा, सुमित्रा विसी, शारदा देवी भट्ट र तारामान स्वारले बुधवार सपथ लिएका छन्।

नेकपासँग चुनावी तालमेलबाट दुई सिट जितेको राजपाका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादवको कार्यकाल पनि बुधवारबाट सुरु भएको छ।

नवनिर्वाचित सांसदको कार्यकाल भने ६ वर्षकै हुनेछ। प्रत्येक २ वर्षमा एक तिहाई सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्था छ।

राष्ट्रिय सभामा नेकपा ५०, कांग्रेस ६, राजपा २ र समाजवादी पार्टीको १ सिट मात्र छ। ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुन्छन्।

३ जना सांसद भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन्छन्। स्थायी सदन राष्ट्रियसभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो। एक तिहाई सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily