काठमाडौँ- स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ ।
के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त ?
यो प्रश्नको उत्तर सहज छैन किनकी नेपालजस्तो विकासोन्मुख देश मात्र हैन, विकसित मुलुक युरोप अमेरिकालगायतकाले पनि यस्तो प्रश्नको उत्तर भेट्टाउन सकेका छैनन् ।
त्यसैले बजारमा फैलिएको हल्ला र त्रासकै भरमा तत्कालका लागि अन्तरराष्ट्रिय उडान रोक्ने अवस्था नरहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ
अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को विश्वव्यापी मापदण्डलाई नेपालले परिपालना गर्नै पर्ने हुन्छ ।
हुन त सार्वभौम मुलुक नेपालका लागि यो बाध्यकारी व्यवस्था भने हैन । नेपालले आफ्नो आवश्यकताका आधारमा निर्णय लिन सक्छ तर पनि मानवीय संवेदनशीलता र विश्वव्यापी परिस्थतिलाई मध्यनजर गरी हतारमा उडान रोक्न पनि उपयुक्त नहुने नियामक निकायको भनाइ छ ।
प्राधिकरणले हालै कोरोना अतिप्रभावित मुलुकमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभित्र रहेर आवश्यकताअनुसार निर्णय लिन सरकारलाई सिफारिस गरेको थियो ।
ट्राभल एडभाइजरी जारी गरिसकेको सरकारले अति प्रभावित मुलुकका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने यसअघि नै निर्णय गरिसकेको छ ।
अहिले मुलुकभित्र कोरोना भाइरसको सङ्क्रमित बिरामी पुष्टि नभएका कारण तत्काल उडान अवतरण रोक्नपर्ने अवस्था नरहेको तर नेपाल र सम्बन्धित मुलकुको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणले उल्लेख गरेको छ ।
प्रतिक्रिया