काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नेपालका महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेको बताएकी छन् ।
११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले प्रधानमन्त्री बन्न पनि धेरै महिला योग्य र सक्षम रहेको स्पष्ट पारिन् ।
विश्वव्यापी महिला आन्दोलनको प्रभाव नेपालमा पनि परेको दिनदेखि आजसम्म नेपालमा पनि थुप्रै महिला अधिकारी प्राप्ति र अधिकारको लागि संघर्ष तथा आन्दोलन भएका इतिहास सुनाउँदै उनले प्राप्त अधिकारको रक्षा गर्दै र पाएको अवसरलाई सही सदुपयोग गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकत्ता सुनाईन् ।
उनले महिला आन्दोलन र संघर्षका कारण अहिले महिलाले संविधानमा अवसर पारेको पनि स्पष्ट पारिन् । उनले भनिन्, ‘हिजोको दिनमा भएका महिला आन्दोलन र संघर्ष अधिकार प्राप्तिको लागि मात्रै थिएनन् । त्यही बलमा शासन व्यवस्था परिवर्तनमा समेत महिला आन्दोलनले अहम भूमिका खेलेको छ ।’
बहुदल आउनुभन्दा अघि नेपालमा महिला आन्दोलन र अधिकार प्राप्तिको लडाई बेग्लाबेग्लै रुपमा भएपनि बहुदल आएपछि भने उक्त आन्दोलनले एकरुपता पाएको उनले सुनाईन् ।
उनले विगतको इतिहासलाई सम्मान गर्दै आगामी दिनमा फरक ढंगले अघि बढ्नुपर्ने धारणा राखिन् । ‘संविधानमै ३३ प्रतिशत महिलाहरुको हरेक निकायमा सुनिश्चितताको व्यवस्था भैसकेको छ’, उनले भनिन्, ‘समानताको ढोका खोलिएको छ ।’
प्रतिक्रिया