+
Search

ताजा अपडेट +

पपुलर +

त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट लिन अब ५ गुणा बढी शुल्क

4KNationalDaily
२०७६ फाल्गुन २८, बुधबार १९:३६ बजे

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ट्रान्सक्रिप्ट लिन विद्यार्थीले अब ५ गुणासम्म बढी शुल्क तिर्नु पर्ने भएको छ।

‘सेक्युरिटी फिचर’सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराइने भएकाले ट्रान्सक्रिप्ट लिन महंगो शुल्क लाग्ने भएको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको हो।

अब प्रवीणता प्रमाणपत्र तहको लागि २ हजार, स्नातकका लागि २ हजार २ सय, स्नातकोत्तर तह र एमफिलका लागि २ हजार ५ सय र विद्यावारिधिका लागि ३ हजार तोकिएको जानकारी परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

अहिले त्रिविले स्नातक तहलाई ४ सय ५० र स्नातकोत्तर तहका लागि ५ सय शुल्क लिँइदै आएको छ। बाक्लो गाता (फोल्डर)मा प्रोभिजनल सटिर्फिकेटसहित दिइने नयाँ ट्रान्सक्रिप्ट अहिलेको भन्दा पाँच गुणा बढी शुल्क लाग्ने परीक्षा नियन्त्रक जोशीले बताए।

नक्कली ट्रानस्क्रिप्ट लिने क्रम बढेकाले त्यसलाई रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने जानकारी दिएको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)का नियन्त्रक जोशीले त्रिवि प्राज्ञिक परिषद्बाट निर्णय गरी सोसम्बन्धी प्रक्रिया सुरु गरिएको जानकारी दिए।

उनका अनुसार उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ। त्यसको बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहनेछ जसलाई ‘गुलुची’ भनिन्छ।

त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ। ‘अहिले बजारमा त्रिविकै नक्कली ट्रान्सक्रिप्ट बनाउने गरिएको छ,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘त्यसलाई रोक्न सेक्युरिटी फिचर भएको ल्याउन लागिएको हो।’ पानीमा नभिज्ने र नच्यातिने विशेषता नयाँ ट्रान्सक्रिप्टमा हुने जनाइएको छ।

सबैलाई एउटै किसिमको दिइने ती ट्रान्सक्रिप्टको बाहिरी गाता भने पाँच किसिमका हुनेछन्। अहिले वितरण हुने ट्रान्सक्रिप्ट समान छैनन्।

अन्य सङ्कायभन्दा चिकित्सा र इञ्जिनियरिङ विषयका भने फरक–फरक ट्रान्सक्रिप्ट छन्। सबैलाई समान खालको दिन सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिन लागिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily