काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न सबैलाई एकतावद्ध हुन अपिल गरेको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्ध लड्न सिंगो राष्ट्र एकतावद्ध भएर सरकारी निर्णयको कार्यान्वयनमा सहयोग गर्न नेकपाले अपिल गरेको हो।
नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपनि जोखिमबाट भने मुक्त नरहेको नेकपाले जनाएको छ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार, राजनीतिक पार्टी, नागरिक समाज, सामाजिक संघ संस्था र नागरिक सबैलाई एकतावद्ध भएर जोखिमबाट देशलाई बचाउन आग्रह गरे ।
कोरोना विरुद्ध लड्ने सरकारलाई आवश्यक निर्णयका लागि पार्टीले सुझाव दिएको र सरकारले गरेका निर्णयहरु कार्यान्वयनका लागि सहजिकरण गरिरहेको उनले बताए ।
श्रेष्ठले जनचेतना विस्तारका लागि पार्टीले युवा, विद्यार्थी र चिकित्सक संगठनहरुलाई हजारौँको संख्यामा स्वयम सेवक तयार गर्न निर्देशन दिएको बताए ।
प्रतिक्रिया