+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय वाणिज्य बैंकले अप्पर माछाखोला जलविद्युत आयोजनामा लगानी गर्ने

4KNationalDaily
२०७६ चैत्र १०, सोमबार १८:०६ बजे

गाेरखा- विकास हाइड्रोपावर कम्पनीले प्रवद्र्धन गरेको माछाखोला (जेरबु खोला) मा अवस्थित माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।

गोरखाको धार्चे गाउँपालिकामा अवस्थित यो जलविद्युत् आयोजना ४.५५ मेगावाट क्षमताको छ ।

वित्तीय व्यवस्थापन सम्झौतामा प्रवद्र्धक विकास हाइड्रोपावर र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार वित्तीय व्यवस्थापनको सहमति भएको हो । बैंकले यस आयोजनामा ४९ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

यो कुल लगानीको ६० प्रतिशत हो । आयोजनाको कुल लागत ८१ करोड ६५ लाख रुपैयाँ छ । बाँकी ४० प्रतिशत लगानी स्थानीय लगानीकर्ता र सञ्चालक समितिले गर्नेछन् ।

स्वदेशी तथा गैरआवासीय नेपालीको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनामा बैंकले ६० प्रतिशत लगानी गर्न इच्छुक भएको हो।

सम्झौतामा कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले माथिल्लो माछाखोला जलविद्युत् आयोजनामा जोखिम नदेखिएकाले बैंकले लगानी गरेको बताए ।

आयोजना समयमै निर्माण हुनेमा हामी आशावादी छौं’, उनले भने। बैंकले जलविद्युत् आयोजनालाई प्राथमिकतामा दिएर लगानी गरिरहेको उनको भनाइ छ ।

कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक उपसंयोजकसमेत रहेका न्यौपानेले तोकिएको समयमै आयोजना निर्माण गरिसक्ने प्रतिबद्वता व्यक्त गरे।

आयोजना अबको १८ महिनाभित्र सम्पन्न हुने भएको छ। ‘स्थानीयको सहयोग र बैंकबाट ऋण प्राप्त भएपछि २०७८ भित्र नै काम सकेर नमुना प्रोजेक्ट बनाउनेछौं’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily