काठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणविरुद्ध घोषणा गरेको ‘स्व- कफ्र्यु’ (लकडाउन) प्रतिकार्य अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी भएको छ।
नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई लकडाउनलाई थप प्रभावकारी बनाउन थालिएको छ ।
कोरोना सङ्क्रमित थप अर्को व्यक्ति फेला परेसँंगै सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि लकडाउन प्रभावकारी बनाउने तयारी भएको गृह मन्त्रालयले जनाएको छ।
सरकारले सर्वसाधारणलाई अत्यावश्यक अवस्थाबाहेक बाहिर ननिस्कन पुनः आग्रह गरेको छ।
गृह प्रवक्ता केदारनाथ शर्माले नेपाल सरकार मन्त्रिपरिषद्को चैत ९ गतेको निर्णयबमोजिम सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार ११ गते मङ्गलबारबाट लागू भएको सो कानुन कार्यान्वयनमा सर्वसाधारणको सहयोगप्रति धन्यवाद दिए।
यो ऐन निर्माण भएको करिब ५७ वर्षपछि पहिलो पटक लागू भएको हो । उनले यो ऐन कार्यान्वयनका क्रममा केही अन्योला उत्पन्न भई सानातिना समस्या देखिए पनि सहज रूपमा समाधान भएको स्पष्ट पारे।
लकडाउनको दोस्रो दिन काठमाडौंँ उपत्यकामा केही उल्लङ्घनका घटना बढेका छन् । आफूखुसी सवारी सञ्चालन गरेको अवस्थामा चालक र सवारीसाधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया