काठमाडौं- संसारको झण्डै आधा जनसंख्या लक डाउनमा छ। कोरोना भाइरसको विस्तार रोक्न निषेधाज्ञा, कर्फ्युसम्म लगाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको छ।
थुप्रै देशले संकटकाल घोषणा गरेर सेना परिचालन गरेका छन्। तर, यी कुनैपनि उपायले भाइरसको विस्तार पूरै रोक्न सकेका छैनन्।
तसर्थ सारा संसार यसको खोप उपलब्ध हुने समय कुरिरहेको छ। किनभने खोप मात्रै त्यस्तो उपाय हुनेछ, जसले मानिसहरुलाई बिरामी बन्नबाट रोक्न सक्छ।
हाल विश्वका ३५ कम्पनी र अनुसन्धानमूलक संस्थाहरु कोरोनाविरुद्धको खोप बनाउन लागिपरेका छन्।
अमेरिकामा त मोर्डना थेराप्युटिक्स नामक कम्पनीले गत साता नै मानिसमा समेत यो खोपको परीक्षण गरिसकेको छ।
चिनियाँ वैज्ञानिकहरुले कोभिड–१९ को कारक भाइरस सार्स–कोभ–२ को जिनेटिक कोड तयार गरिसकेका कारण जनवरीको मध्यदेखि नै विश्वका वैज्ञानिकहरु खोप विकासमा लागेका थिए।
जसले वैज्ञानिकहरुलाई भाइरस हुर्काएर त्यसले मानिसलाई कसरी बिरामी बनाउँछ, अध्ययन गर्ने मौका प्राप्त भएको थियो।
त्यसमाथि हालैका दुई महामारी पनि कोरोना भाइरसकै कारण भएका थिए–सार्स र मर्स। सार्सको कारक भाइरस कोरोना भाइरससँग करिब ९० प्रतिशत मिल्न जान्छ।
तर, यो भाइरसको खोप तयार हुन अझै लामो समय लाग्न सक्नेछ।
प्रतिक्रिया