+
Search

ताजा अपडेट +

पपुलर +

न्युज साइट ह्याक गर्नेकै पहुँचमा बैंकिङ प्रणाली, २२ वाणिज्य बैँकको वित्तिय सुरक्षा खतरामा

4KNationalDaily
२०७६ चैत्र २१, शुक्रबार ०८:५४ बजे

काठमाडौं- आफैँले बनाएको न्युज पोर्टल ह्याक गर्ने प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलि र उनको कम्पनीका कारण नेपालका वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय सुरक्षा जोखिममा परेको छ।

नेपालका २२ वाणिज्य बैंक र अन्य २६ वित्तीय संस्थाको मोबाइल एप असगरकै कम्पनीले बनाएको खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले लेखेका छन्।

सो कम्पनीले काठमाडौं प्रेस अनलाइन न्युज पोर्टल ह्याक गरेको पुष्टि भएको छ । आफैंले डिजाइन गरेको न्युज पोर्टलमा अनधिकृत रूपमा प्रवेश गर्ने सो कम्पनीले कुनै दिन बैंक तथा वित्तीय संस्थाको प्रणालीभित्र छिरेर वित्तीय हिनामिना गर्ने जोखिम देखिएको छ।

असगर अलि र उनको समूहले सञ्चालन गरेको ई-सेवाले डिजिटल वालेटको रूपमा सेवा दिन्छ । जहाँ ग्राहकले आफ्नो बैंकमा भएको रकम ट्रान्सफर गरेर आवश्यक खर्च गर्न सक्छन्।

सो समूहले फोनपे सेवा पनि सञ्चालन गरिरहेको छ जसले ग्राहक, व्यापारी र बैँकलाई जोड्छ । यसको संयन्त्र पनि ई–सेवा समूहकै एफवान सफ्टले नै विकास गरेको हो।

यही माध्यमबाट नेपालका अधिकांश बैंकको अनलाइन भुक्तानी हुने गरेको छ । त्यति मात्रै होइन, कतिपय नेपाली बैंकको डेटा होस्टिङसमेत एफवान सफ्टले गर्ने गरेको छ।

‘वेबसाइट र एप निर्माणलगायतका साइबर सर्भिस पूर्णतः नैतिक सम्झौता हो, तर त्यहाँ बेइमान गर्न सक्नेले कुनै पनिवेला जतिसुकै स्तरको क्षति गराउन सक्छ,’ एक साइबारविज्ञले भने, ‘केही बैंकले खर्च घटाउन एफवान सफ्टकै सर्भर प्रयोग गर्नेदेखि डेटा होस्टिङसम्म उसैलाई गर्न दिएका छन्, उनीहरू सबैभन्दा जोखिममा छन् किनभने त्यस्ता बैंकको कोर बैंकिङ सिस्टममा एफवान सफ्टका प्राविधिकहरू सजिलै पस्न सक्छन् ।’

एफवान सफ्टकै भगिनी कम्पनी सिरान टेक्नोलोजिजले काठमाडौं प्रेस न्युज पोर्टलको सिस्टमभित्र अनधिकृत रूपमा प्रवेश गरेर समाचार हटाइदिएको थियो । नागरिक समाज र मिडियामा चर्को आलोचना भएपछि सो कम्पनीले आफूहरूबाट त्रुटि भएको स्वीकार गर्दै विज्ञप्ति जारी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily