+
Search

ताजा अपडेट +

पपुलर +

डाक्टरले हेर्नै मानेनन्, एम्बुलेन्समै बिरामीको मृत्यु

4KNationalDaily
२०७६ चैत्र २५, मंगलवार ०८:४३ बजे

काठमाडौं- रुपन्देहीमा सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन्।

कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नुको साटो भैरहवाको मेडिकल कलेज जान भनेका थिए।

उनका ससुरा सरिफ मुसलवानले एम्बुलेन्समा राखेर बुहारीलाई मेडिकल कलेज पुर्‍याए। तर, त्यहाँको प्रशासनले त ज्वरोका बिरामीको उपचार नगर्ने भन्दै गेटभित्र प्रवेशसमेत दिएन। ‘ज्वरो आएका मान्छेको उपचार हामी गर्दैनौ भनेर फर्काए’, मुसलवानले भने।

त्यसपछि उनीहरू जिल्ला अस्पतालमै फर्किए। प्रमुख जिल्ला अधिकारी (सीडीओ)समक्ष गुनासो गरे। सीडीओले फोन गरी उपचार गर्न निर्देशन दिएपछि डाक्टरहरू अस्पतालबाहिरैै चेकजाँच गर्न तयार भए।

तर, उनीहरू बिरामी भएको एम्बुलेन्ससम्म पुग्दा–नपुग्दै निशाको प्राण गइसकेको खबर अन्नपूर्ण पोष्टमा बुटबलबाट लक्ष्मण पोखरेलले लेखेका छन्।

आइतबार राति उनलाई निजी सवारी साधनमा राखेर अस्पताल पुर्‍याइएको थियो। अस्पतालले भर्ना नलिँदा बुहारीको मृत्यु भएको गुनासो मुसलवानले गरे। निशाका दुई छोरा र दुई छोरी छन्।

वडाध्यक्ष श्यामनारायण उपाध्यायले अस्पतालले भर्ना नलिँदा बिरामीले उपचार नपाएको बताए। भैरहवाबाट पुनः कपिलवस्तु ल्याए पनि अस्पताल परिसरमै चिकित्सकले मृत घोषणा गरेको उनले सुनाए। ‘अस्पतालले उपचार गरेको भए उनको मृत्यु हुँदैनथ्यो’, उनले भने।

निशालाई एक साताअघि पनि ज्वरो आएको थियो। तौलिहवाकै मेडिकलबाट औषधि लगेर उनले सेवन गरेकी थिइन्। मेडिकल सञ्चालकले सामान्य टाइफाइड भन्दै औषधि दिएका थिए। मुसलवानका अनुसार त्यही औषधिले ज्वरो ठीक भएको थियो।

कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेले एम्बुलेन्समै बिरामीको ज्यान गएको स्वीकार गरे। ‘मृतकलाई कसरी भर्ना गर्ने?’, उनले भने। त्यसअघि नै अस्पताल लगेको विषय भने उनले टारेका छन्।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु अस्पताल आएर भैरहवा गएको विषयमा आफूले जानकारी नपाएको बताए। ‘पछिल्लो पटक अस्पताल आउँदा डाक्टरले रेस्पोन्स गरेका छन्’, उनले भने, ‘त्यसअघिको विषय भने मलाई जानकारी छैन।’

भैरहवाको युनिभर्सल मेडिकल कलेजले केही दिनअघि मात्रै बुटवलका एक बिरामीलाई उपचार नगरी फर्काएको थियो। खुट्टा भाँच्चिएर अस्पताल पुगेका उनलाई ज्वरो आएको भन्दै फिर्ता गरिएको थियो।

सरकारले उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भने पनि बिरामी मृत्यु शृंखला निरन्तर छ। निजी अस्पताल, मेडिकल कलेज मात्र होइन, सरकारी अस्पतालले नै उपचारमा आनाकानी गरिरहेका छन्। बुटवलमा नौ दिनअघि बिरामीको उपचार नहुँदा मृत्यु भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily