+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाको महामारीसँग लड्न सरकारलाई सघाउने कांग्रेस बैठकको निर्णय

4KNationalDaily
२०७६ चैत्र २५, मंगलवार १८:१५ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संकट समाधानका लागि सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको उपत्याकामा उपलब्ध पदाधिकारीहरुको बैठकले सरकारमा नरहे पनि संकटको बेला सँगै लड्न सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो ।

कोरोनाको महामारीसँग लड्न सरकारलाई पर्याप्त समय भए पनि आवश्यक तयारी गर्न नसकेको निष्कर्ष समेत कांग्रेसले निकालेको छ ।

बैठकले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रुपमा परीक्षणको दायरा बढाएर जान समेत सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै बैठकले पीपीई, भेन्टिलेटर, परीक्षण किट लगायतका सामग्रीको छिटो व्यवस्था गर्न समेत आग्रह गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट सरकारलाई सम्पूर्ण रुपले घचघच्याउने तथा सरकारले परिक्षणको दायरा व्यापक रुपमा बर्ढाएर जानुपर्ने आवश्यकता बैठकले महसुस गरेको छ ।

सरकारलाई त्यसका लागि अपिल गरेको छ । पीपीई, परीक्षण किट, भेन्टिलेटर जस्ता अत्यावश्यक सामग्रीहरुको अप्रयाप्तता जे छ त्यसलाई चाँडोभन्दा चाँडो सरकारले जुन प्रक्रियाले हुन्छ व्यवस्थापन गर्नलाई आजको बैठकले अपिल गरेको छ ।’

स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सरकारले उपलब्ध गराउनुपर्ने र स्वास्थ्यकर्मीहरुलाई पनि मानवीय भावनाले काम गर्न बैठकले आग्रह गरेको प्रवक्ता शर्माले बताए ।

सरकारले खरिद गरेको स्वास्थ्य सामग्रीमा भएको अनियमितता र भ्रष्टाचारको विषयमाथि छानबिन गर्न समेत बैठकले माग गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य, संघीय सांसद, गाउँनगर क्षेत्रमा निर्वाचित भएका र उम्मेदवार भएकाहरु, पार्टीको जिल्ला कार्य समितिको नेतृत्व देखि टोल सम्मको नेतृत्वमा रहेका सबैलाई आ–आफ्नो ठाउँबाट उच्च मानविय भावनाका साथ काम गर्न समेत कांग्रेसले निर्देशन दिएको छ ।

कांग्रेसले देशभन्दा बाहिर रहेर अप्ठेरोमा परेका नेपालीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी उद्दार गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ । कांग्रेसले कोरोना भाइरसका विषयमा पार्टीले गर्नुपर्ने कार्यमा सुझाव लिन विज्ञ समुह गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily