काठमाडौ- नेकपा सचिवालय सदस्य एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोरोना भाइरसको महामारीका बेला पार्टी र सरकारलाई अविश्वास र आशंका बढाउने काम नगर्न आग्रह गरेका छन्।
मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालले विषम परिस्थितिमा सरकार र पार्टीले मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्न नहुने सुझाव दिएका छन्।
‘माहामारीले विश्वसहित नेपाललाई आक्रान्त पारेको बेला सरकारको नेतृत्व गरेको पार्टीको हैसियतले सिंगो राष्ट्र‚ पार्टीसहित र अन्य पार्टीका नेता कार्यकर्ता जनताको ध्यान संक्रमणविरुद्ध लड्नमा केन्द्रीत छ।’ विज्ञप्तिमा उल्लेख गर्दै नेपालले भने, ‘यस्तो विषम परिस्थितिमा सरकार पार्टी कहीँबाट मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनको प्रहार हुने आविश्वास आशंका उत्पन्न हुने गर्नुहुँदैन।’
पार्टीलाई आघात पुग्ने काम कसैले गर्न नहुने नेपालले स्पष्ट पारेका छन्। विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड र नेपाल सरकारले गरेका निर्णयको पालना गर्न सबैसँग नेपालले आग्रह गरेका छन्।
यस चुनौतिपूर्ण घडीमा पार्टी एकताप्रति संवेदनशील भई सबै नेता कार्यकर्ता एकताबद्ध भई सहकार्य गर्दै जनताको समर्थन लिएर अघि बढ्न नेपालले सुझाएका छन्। विकसित कतिपय घटनाक्रमले पार्टीलाई अनेकौं आशंकासँगै चिन्ता बढाएको भन्दै नेपालले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपमा एकताबद्ध भई अघि बढ्नुपर्ने बताए।
पार्टीलाई विधिका आधारमा सहमति,समझदारी र विश्वासका साथ अघि बढाउन सहयोग गर्ने बताएका छन्। व्यक्तिगत संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह पूर्वाग्रहबाट टाढा रहेर पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्न नेपालले आग्रह गरेका छन्।
प्रतिक्रिया