काठमाडाैं- प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउने र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पु-याइने बताएका छन् ।
ओलीले नेकपा स्थापनाको सात दशकमा नेपालमा असाधारण उपलव्धी हासिल भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा बुधबार शुभकामना दिँदै ओलीले सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोगमार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको उल्लेख गरेका छन् ।
‘वितेका यी वर्षहरुमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आयो । अनेकन् आरोहअवरोह र हण्डर–ठक्करको सामना गर्दै संघर्षको नेतृत्व गरिरह्यो । पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि बिराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाइ अघि बढायो । सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोगमार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो’, ओलीले भनेका छन्, ‘कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि हो ।’
लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको नेकपा, स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुगेकामा ओलीले खुसी व्यक्त गरेका छन् ।
बितेका यी वर्षहरुमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आएको उनको भनाइ छ ।
प्रतिक्रिया