काठमाडौं- कोरोना संक्रमणको आशंकामा अहिलेसम्म स्वाव नमुना संकलन (पीसीआर) र -यापिड डाइग्नोष्टिक विधिबाट गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ।
पीसीआर र -यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट गरी ४० हजार ४ सय ३१ वटा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पीसीआर विधिबाट ९ हजार ११ र आरडिटी विधिबाट ३१ हजार ४ सय ३० नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। गत २४ घण्टामा ३ हजार ७ सय ३६ परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताए।
सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण भइरहेको छ। प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ३ हजार ९७, प्रदेश नम्बर २ मा ३ हजार ९ सय २५ र बाग्मती प्रदेशमा ५ हजार ९ सय १५ परीक्षण भएका छन्।
यसैगरी गण्डकी प्रदेशमा ४ हजार २ सय ७२, प्रदेश नम्बर ५ मा २ हजार ५ सय ९६, कर्णाली प्रदेशमा ४ हजार ३ सय ८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३ सय ७ वटा परीक्षण भएका छन्। देशभरी ८हजार ५ सय ९५ जना क्वारेन्टाइनमा रहेका छन्।
उपत्यकामा ३ र उपत्यका बाहिर ९२ जनासहित देशभरी ९५ जना आइसोलेसनमा रहेका छन्।
बुधबार थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ।
यसैगरी बुधबारसम्म उपचारपछि निको भएर डिस्चार्ज हुनेहरुको संख्या ७ पुगेको छ। बुधबार २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
सेती प्रादेशिक अस्पतालबाट २९ वर्षीय पुरुष १९ दिनपछि र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट ३२ वर्षीय पुरुष २९ औं दिनमा डिस्चार्ज भएका हुन्।
प्रतिक्रिया