काठमाडौं– सरकारले गठन गरेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको सचिव नारायण विडारीले जानकारी दिए ।
सरकारले वैशाख १८ गतेसम्म उडान बन्द राखेको थियो। उक्त समय थप बढाएर जेठ २ सम्म पुर्याइएको हो।
त्यस्तै समितिले लकडाउनको मोडालिटी तयार गर्ने जिम्मा मुख्य सचिवको नेतृत्वमा रहेको टाक्र्सफोर्सलाई दिएको छ।
सरकारले दोस्रोपटक थप गरेको लकडाउनको अवधि वैशाख १५ बाट सकिँदैछ। यसबारे निर्णय गर्न भाेलि (आइतबार) मन्त्रिपरिषद् बैठक बस्दैछ।
सचिव विडारीका अनुसार लकडाउनबारे मन्त्रिपरिषद बैठकले निर्णय लिनेछ। अब बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने वा कायमै राख्ने भन्नेबारे निर्णय गर्नेछ।
आजको बैठकमा लकडाउनबारे समीक्षा भएको थियो। लकडाउन प्रभावकारी रहेको बैठकले निचोड निकालेको उनले बताए।
यसअघि बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनबारे मोडालिटी तय गर्न निर्देशन दिएको थियो।
प्रतिक्रिया