काठमाडौं- नेपाल कम्युष्टि पार्टी (नेकपा)भित्रको विवाद तत्काल सुल्झने सम्भावना छैन ।
पार्टीसँग कुनै समन्वय एवम् छलफलनै नगरी पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यादेश जारी गरेपछि सुरु भएको विवादले नयाँ मोड लिएको छ।
प्रधानमन्त्री ओलीले चौतर्फी दवावपछि अध्यादेश त फिर्ता लिए तर भैँसेपाटी समूह ओलीलाई त्यतिकै छाड्ने मोडमा भने छैन।
भैँसेपाटी समूहको ध्यान अब प्रधानमन्त्रीको राजीनामातर्फ उन्मुख भएको छ ।
प्रधानमन्त्री ओलीले विवादीत अध्यादेश फिर्ता लिए पनि अब नेकपाका शीर्ष नेताहरुले उनले नैतिकताका आधारमा राजनीनामा दिनुपर्नेमाछलफल थालेका छन् ।
पार्टीको स्थायी समिति बैठक त्यसकै तयारी अन्तर्गत बोलाउन लागिएको हो ।
नेकपा वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा देखिएको विवादका बारेमा छलफल गर्न आफूहरुले स्थायी समितिको बैठक बोलाउन अध्यक्षद्वयलाई आग्रह गरिसकेको बताएका छन् ।
उनले पार्टीमा पछिल्लो समय देखिएको समस्याका विषयमा सचिवालय र स्थायी समितिमा छलफल हुने जानकारी दिए ।
पार्टी एकताविरुद्ध अध्यक्ष ओलीबाटै विभिन्न क्रियाकलाप सञ्चालन भएको र पटक पटकका विवादले सरकारमात्र नभएर नेकपाप्रति आम नागरिकको विश्वास गुम्दै गएको निष्कर्ष निकालेर शीर्ष नेताहरुले अब प्रधानमन्त्री ओलीको राजीनामाका विषयमा अनौपचारिक छलफल थालेको बताएका छन् ।
एक सचिवालय सदस्य भन्छन्, ‘भ्रष्टाचार लगायतका विभिन्न क्रियाकलापले सरकार बद्नाम भएको छ । पछिल्लो समय सांसद अपहरणसम्म आइपुग्दा प्रधानमन्त्री ज्यूलाई सरकारमा बस्ने नैतिकता छैन । त्यसैले अब स्थायी समिति बैठकमा उहाँको राजीनामाको विषयमा छलफल हुन्छ ।’
भैँसेपाटीमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बिहीबार जुटेका ६ सचिवालय नेताहरुले अध्यादेश फिर्ताका लागि २४ घन्टे अल्टिमेटम दिएका थिए ।
त्यसैको दबाबमा प्रधानमन्त्री ओलीले शुक्रबार विवादीत दुई अध्यादेश फिर्ता लिए ।
प्रचण्डसहित भैँसेपाटीमा जम्मा भएका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश र महासचिव विष्णु पौडेलले ओलीले अध्यादेश फिर्ता लिए पनि स्थायी समिति बैठक एक डेढ हप्ताभित्रै बोलाउने समझदारी गरेका थिए ।
अध्यादेश फिर्ता भएपछि पनि अहिले नेताहरुबीच अब प्रधानमन्त्रीको राजीनामाका विषयमा छलफल सुरु भएको छ ।
अर्का सचिवालय सदस्य भन्छन्, ‘व्यक्तिगत इच्छा आकांक्षा पूरा गर्ने सोच राख्नु गलत हो । पार्टीमा सामूहिकता हुनुपर्छ । अहिलेसम्म सुधार नभए पछि अब राजीनामाका विषयमा अनौपचारिक छलफल सुरु भएको छ ।’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्ता पछि शुक्रबार अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफलमा स्थायी समिति बैठक बोलाउने विषयमा कुराकानी भएको थियो ।
प्रतिक्रिया