काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता लेखनाथ न्यौपानेले सांसद नै नभएको व्यक्तिलाई प्रधानमन्त्री बनाउने भन्नु उट्पट्याङ प्रस्ताव भएको बताएका छन्।
विहिवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेता न्यौपानेले कसैले आफ्नो नाम प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि मख्ख पर्नु र कसैले ‘अब त छोड्ने भयो भनेर लठ्ठ’ हुनु हास्यास्पद भएको संकेत गर्दै नेताहरुलाई व्यंग्य गरेका हुन् ।
सांसद नभएको व्यक्ति प्रधामनत्री कसरी हुन सक्छ ? भन्ने प्रश्न गर्दै न्यौपानेले कोही व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि प्रतिनिधिसभा सदस्यलाई बली चढाउन नमिल्ने समेत उल्लेख गरेका छन् ।
बुधबारको नेकपा सचिवाय बैठकमा उठेका विषयहरुमा संकेत गर्दै न्यौपानले नेताहरुलाई संविधान संशोधन गरेर राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने संविधानमा व्यवस्था गर्नुपर्यो भन्दै व्यंग्य गरेका छन् ।
नेता न्यौपानेले भनेका छन्, खिलराज रेग्मी मोडेल अपनाउनु पर्यो वा त पञ्चायती व्यवस्थामा झैं राजाले खास मान्छेलाई टिपेर नियुक्त गर्ने तरिकामा छलाङ मार्नुपर्यो ?
यस्ता अरु पनि लोक हँसाउने विकल्प पनि पनि छ कि ? भन्दै नेता न्यौपानेले देशमा संकटकाल लगाउने, सामान्य जनतालाई कोठा कोठामा थुन्ने, हामी भने पद र पावरका लागि जे पनि गर्दै हिंड्ने । यसैलाई हो कम्युनिस्ट राजनीति भन्ने ?
पछिल्लोपटक नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्र्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष र उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमनत्रीका रुपमा प्रस्ताव गरेपछि नेकपाका नेता कार्यकर्ताले त्यसको पक्ष र विपक्षमा आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।
हेर्नुस् नेता न्यौपानेले स्टाटस :
सांसद नभएको व्यक्ति कसरी प्रधानमन्त्री हुन् सक्छ ?
(एउटाको उट्पट्याङ प्रस्ताव) अर्को आफ्नै नाम आएपछि मख्ख ! अरुहरु अब त छोड्ने भयो भनेर लठ्ठ !
तर कसरी ?
कसरी भने,
१. आमूक व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि कि कोही प्रतिनिधिसभा सदस्यलाई बली चढाउनु पर्यो
२. संविधान संशोधन गरेर राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने संविधानमा व्यवस्था गर्नुपर्यो
३. खिलराज रेग्मी मोडेल अपनाउनु पर्यो
४. पंचायती व्यवस्थामा झै राजाले खास मान्छेलाई टिपेर नियुक्त गर्ने तरिकामा छलाङ मार्नुपर्यो ?
अरु कुनै विकल्प पनि छ कि लोक हँसाउने कामरेड कलाकार ।
देशमा संकटकाल लगाउने, सामान्य जनतालाई कोठाकोठामा थुन्ने, हामी भने पद र पावरका लागि जे पनि गर्दै हिंड्ने । यसैलाई हो कम्युनिस्ट राजनीति भन्ने ? छि ।
प्रतिक्रिया