गोरखा- अजिरकोट गाउँपालिका वडा नम्वर ५, मुच्चोक राम्चेका विभिन्न किराना तथा खाद्यान्न पसलहरुमा विक्री गर्न राखिएका सामानहरु धेरै जसो म्याद गुज्रिएको पाइएको छ ।
वडा कार्यालयको समन्वयमा चतुर्माला सामाजिक यूवा क्लवले विभिन्न पसलहरुमा अनुगमन गर्दा मिति गुज्रिएका सामानहरु जफत गरिएको क्लबका अध्यक्ष रोशन देवकोटाले बताए ।
ठूला व्यावसायीहरुले साना व्यवसायी र सामान्य उपभोक्तालाई समेत झुक्याएर म्याद गुज्रेका सामान विक्री गर्ने गरेको पाईएको छ ।
अघिल्ला वर्षहरुमा समेत म्याद गुज्रिएको बिस्कुट, चाउचाउ भेटिएको र सजग पारिएको तर पुनः यस पटक पसलहरुकोे अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रिएका जंगफुड र पेय पदार्थ फेला परेको हो ।
वडा प्रतिनिधिहरु र स्थानीय युवाहरूको रोहवरमा किराना पसलहरुको अनुगमन गरिएको हाे।
अनुगमनका क्रममा विक्री कक्षमै म्याद गुज्रेका पेय पदार्थ, पिठो, चुइङ्गम, फ्रुटी, कुरकुरे, लेज, विस्कुट, मसला लगायतका म्याद गुज्रेका सामान राखेको पाईएको छ ।
त्यस्ता म्याद गुज्रिएका सामान मानव स्वास्थ्यका लागि अति हानिकारक हुने भएकोले जनस्वास्थ्यलाई ख्याल नगरी त्यस्ता सरसामान विक्री गरेको पटक पटक भेटिएकोले यस पटक भने कडाइका साथ अनुगमन भएको हो ।
अब उप्रान्त यसो नगर्न वा उपभोक्ताको अधिकार लाई हनन नगर्न भनिएको छ । पुनः अटेर गरे कडा भन्दा कडा कारबाहि गरिने वडा कार्यालयले बताएको छ ।
मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने म्याद गुज्रेका सामान बेच्दै आएको पाइएकाले सामान जफत गरी नष्ट गरिएको र अब त्यस्तो नगर्न निर्देशन दिइएको वडा अध्यक्ष झलप्रसाद देवकोटाले बताए ।
वडा कार्यालयको समन्वयमा चतुर्माला माध्यामिक विद्यालय क्षेत्र वरपरका पसलहरु प्रगती मल्टी सप, पौड्याल किराना पसल, दिपक किराना स्टोर, कुमारी खाजा घर तथा अन्य भट्टीहरुमा बेच्न राखिएका मदिराजन्य पदार्थ समेत जफत गरि अनाधिकृत विक्री वितरण रोक्ने निर्णय भएकोले छिटै वडा कार्यालयसग समन्वय गरि मदिरा मुक्त गाउँ बनाउने योजना रहेको क्लबले जनाएको छ ।
युवा क्लवको यस प्रकारको सामाजिक कार्यले आम सोझा साझा उपभोक्ताको अधिकारबाट बन्चित हुन नपर्ने तथा राज्यले सम्बिधानमा नै उपभोक्ता सम्बन्धि हक भनेर मौलिक हकको रुपमा राखेकोले यसको पालना हुने र उपभोक्ता समेत सचेत हुने स्पष्ट देखिन्छ ।
प्रतिक्रिया