काठमाडौं– भारतले नेपाली भूमी लिपुलेक हुँदै चीनसम्मको सडक सञ्चालन गरेकाेमा नेपालले त्यसको विरोध गरेको छ।
परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह जारी गरेको विज्ञप्तिमा भारतको सो एकपक्षीय कदमबाट दुई देशबीचको द्विपक्षीय सहमती र दुई देशका प्रधानमन्त्री तहमा भएको समझदारीको पनि उल्लंघन भएकाे बताएकाे छ।
‘भारतले हिजो (शुक्रबार) नेपाली भूमी लिपुलेक हुँदै लिंक रोड उद्घाटन गरेको कुरा नेपाल सरकारले दुखका साथ जानकारी पाएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ।
सुगौली सन्धी (१८१६) बमोजिम नेपाल सरकारले काली (महाकाली) नदीदेखि पूर्वका लिम्पियाधुरा, कालापानी, र लिपु लेकसहित सम्पूर्ण भूमी नेपालको भएको कुरा निरन्तररुपमा स्मरण गराउँदै आएको परराष्ट्रले जनाएको छ।
‘यो एकपक्षीय कदम दुई मुलुकबीच भएका समझदारी र सीमासम्बन्धी विषयहरुको समाधान वार्तामार्फत् गर्ने भन्ने दुई मुलुकका प्रधानमन्त्रीको तहमा भएको समझदारीहरुको समेत विरुद्ध छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया