काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अनधिकृतरुपमा नेपाली भूमि कब्जा गरेको बारे सरकारले तुरुन्त कदम चाल्नुपर्ने बताएका छन्।
भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेपछि ट्विट गर्दै श्रेष्ठले यस्तो बताएका हुन्।
‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमाक्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु,’ उनले भनेका छन्, ‘हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुद्ध सरकारले तु कदम चालोस् ।’
यसअघि राजनीतिक नक्सामा नेपाली भूमि पारेको भारतले एकपक्षीय रुपमा निर्माण गरिएको उक्त सडकको शुक्रबार उद्घाटन गरेको हो।
भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत् भारतको धार्चुलाबाट लिपुलेक पुग्ने सडकमार्गको उद्घाटन गरेका हुन्। त्यस्तै पिथौरागढबाट गुञ्जी पुग्ने मार्गको पनि उनले उद्घाटन गरे। गुञ्जी र लिपुलेक नेपाली भूमि हुन्।
भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु।हामी सबै कोरोना बिरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको बिरुध्द सरकारले तु कदम चालोस् ।
— NKShresthaPrakash (@nksthaprakash) May 9, 2020
भारतले गत नोभेम्बर २ मा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी (लिपुलेक र लिम्पयाधुरा समेत) पारेपछि विवाद उत्पन्न भएको थियो।
त्यसको कूटनीतिक माध्यममार्फत् समाधान खोजी नसकिएको अवस्थामा भारतले फेरि उक्त क्षेत्र छुने गरी बनाइएको बाटो उद्घाटन गरेको हो।
प्रतिक्रिया