काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै अहिले कविताको सौन्दर्य विचरण गर्ने समय नभएको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठककाे शून्य समयमा बोल्दै उनले नेपालको भूभाग मिचिँदा मुटुमा प्रहार भएकाले यो कवितामा सत्तापक्ष र प्रतिपक्ष हुने समय नभएको टिप्पणी गरे।
‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’ भने झैं अहिलेको अवस्था भएको भन्दै उनले यसमा ध्यान दिन आग्रह गरे।
उतले भने ‘सरकारले प्रेस नोट पठाएको जानकारी पाइएको छ। बलभद्र र भिसेन थापाको देश हो। सबैलाई एकताबद्ध गर्दै सरकारले ठोस पहल गरोस्।’
पौडेलले आगामी नीति तथा कार्यक्रम र बजेट विनियोजन समाजवाद उन्मुख हुनुपर्ने बताएका छन्।
पौडेलले पुराना कार्यको निरन्तरतामात्रै नभई बजेट परिणाममुखी र संविधानमा व्यवस्था गरिएबमोजिमको लक्ष्य हासिल गर्न केन्द्रित हुनुपर्ने सुझाव दिए। ‘यसवर्ष विनियोजन गरिने बजेट समाजवादको आधारस्तम्भ बन्ने हुनुपर्छ,’ पौडेलले भने।
उनले बजेटका नीति तथा कार्यक्रम र सिद्धान्त हेर्दा समाजवादको बाटोमा अग्रसर हुने भन्दापनि पुरानो कार्यक्रमले निरन्तरता पाउँदा परम्पराले निरन्तरता पाउने खतरा रहेको आशंका व्यक्त गरे।
‘आर्थिक रुपमा समृद्ध बन्नका लागि परम्परागत शैलीभन्दा माथि उठेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘समाजवादउन्मुख राज्य प्रणालीमा जाने हो भने हामीले खासगरी लक्षित गरेका ठाउँहरु कृषिजन्य ठाउँहरुमा लगानी बढाउने, नेपालमा प्राप्त हुने कच्चा पदार्थलाई औद्योगिक रुपमा अगाडि बढाउनको निम्ति प्रत्येक पालिकामा त्यो व्यवस्था गर्ने र ७५३ स्थानीय तहमा उपलब्ध हुने कच्चा पदार्थमा आधारित उद्योग सुरु गर्ने र उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्छ।’
उनले बजेट छर्ने प्रचलन गलत रहेको पनि बताए। संघीयतामा गएपछि प्रत्येक प्रदेशमा स्तरीय विश्वविद्यालय, स्तरीय अस्पताल, स्तरीय एयरपोर्ट निर्माण गर्ने योजनमा बजेट परिचालन गर्नुपर्ने उनको सुझाव छ।
‘पहुँचका आधारमा बजेट लगिने हो कि प्राथमिकता निर्धारण गरिने हो?’ उनले प्रश्न गरे, ‘गएको वर्ष प्रत्येक पालिकाको केन्द्रसम्म पिच बाटो पुर्याइने खाका कहाँ पुग्यो?’
प्रतिक्रिया