+
Search

ताजा अपडेट +

पपुलर +

नागरिक जोगाउन नसक्नेले देशको भूमि जोगाउन सक्दैन : गगन थापा [भिडियोसहित]

4KNationalDaily
२०७७ जेष्ठ ५, सोमबार १७:५२ बजे

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताले गगन थापाले सरकारले सीमामा अलपत्र पारेका नागरिक स्वदेश छिर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

यसका साथै उनले सरकारले हालै ल्याएको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रणका लागि प्रभावकारी माध्यमको परिकल्पना नगरेमा पनि आक्रको व्यक्त गरेका छन्।

नेता थापाले नागरिकको ज्यान जोगाउन नसक्ने सरकारले भारतले मिचेको भूमि फिर्ता ल्याउन नसक्ने पनि ठोकुवा गरे। ‘मान्छे फर्काउने नसक्ने सरकारले भूमि फिर्ता गर्छ भन्ने रत्तिभर पनि विश्वास छैन,’ उनले भने।

सरकारको रवैया यस्तै रहे नेपालमा कोरोना संक्रमण अझ भयावह बन्दै जाने भन्दै उनले तत्काल सरकारले गम्भीर बन्नुपर्ने समेत आग्रह गरेका छन्।

बाँकी उनकै शब्दमाः

मुख प्रतिपक्षी दलका नेताले यस सरकारसँग जनताको हृदय बुझ्ने क्षमता नभएको भन्नु भयो। माननीय प्रदीप गिरिले यो सरकारलाई गीतको नशा लागेको बताउनु भयो।

तर कुरा त्यतिमात्रै होइन, दुई अमेरिकन साइकोजिस्ट डेनिल र क्रुकिलले सन् १९९९ मा गरेको एक अध्ययनले एक रोचक तथ्य अघि सारेको थियो। केही कम क्षमता भएका व्यक्तिहरुलाई के लाग्छ भने उनीहरुसँग अदभूत क्षमता छ।

आफूलाई ज्ञान नै नभएको विषयमा गजबको ज्ञान भएको भ्रान्ति उनीहरुमा हुन्छ। डनिल भन्छन्- यस्तो प्रवृति सामान्य मान्छेमा हुँदा कम क्षति हुन्छ। कुनै कम्पनीको मालिक वा देश चलाउनेलाई यस्तो भयो भने वर्बादै हुन्छ।

त्यसको अतिरिक्त उनको वरपर हुनेहरुले हुँदै नभएको ज्ञान र क्षमतामा पनि क्याबात क्याबात भनिरहे भने देश वा कम्पनी नै दुर्घटनामा पर्छ।

यो नीति तथा कार्यक्रम पढिरहँदा यस्तै कारणले हाम्रो देश दुर्घटनाको नजिक पुगेको भान भएको छ। यो नीति तथा कार्यक्रम प्रधानमन्त्रीले एक्लै लेखेको कविता, कुनै मन्त्रीले लुकेर लेखको अध्यादेश जस्तो हो।

सचिव, मन्त्री, प्रधानमन्त्रीको टिमले पहिले यो लेखियो होला। संसदमा ल्याउनु अघि प्रधानमन्त्रीले पटक पटक पढ्नुभयो होला। कोरोना महामारीले गर्दा विश्वको अवस्थामा कसरी खलबल ल्याएको छ, त्यसबाट हामी अछुतो छैनौं।

हामी झनै प्रभावित हुँदै जानेछौं भनी यो दस्तावेज लेख्दै गर्दा कसैले भनेन?

नागरिकको खल्ती खाली हुँदा यसले घरको खुत्रेको मात्रै रित्तिने होइन, देशको ढुकुटी पनि रित्तिसक्यो ।

त्यसैले यो पनि गरिनेछ ,त्यो पनि गरिनेछ, भनी नलेखौं भनि कसैले भनेन? घर भित्र र बाहिरको आपूर्ति प्रणाली अस्तव्यस्त हुँदा यो बेलामा लामो गन्थन नलेखौं। तत्काल बारी र भकारी भर्ने बारे लेखौं कसैले भनेन?

रोजगारी वृद्धि हुन्छ,समृद्धि हुन्छ भनी नारा लेखिदै गर्दा दुई महिनामा लाखौं मानिस बेरोजगारी भइसके कसैले भनेन? भोकले कोही मर्न पर्दैन भन्दै गर्दा भोकले मरिसके सकैले भनेन?

सरकारको अभूतपूर्ण कामले संक्रमण नियन्त्रण भयो भनी लेखिरहँदा संक्रमण कम भएको होइन, परीक्षण कम भएको कसैले भनेन? यस्तै काम गर्ने प्रवृति र तरिका हो भने केहि दिन पछि मर्ने मान्छेहरुको संख्या गनेर भ्याइदैन कसैले भनेन? नीति तथा कार्यक्रम बढ्दा निराश र आक्रोश होइन, लज्जित हुनुपरेको छ।

लिम्पियाधुरासहितको नक्सा प्रकाशित हुन्छ भन्दै गर्दा सबैले टेबल ठटाउँदा मैले पनि ठटाएँ। किनकि नक्सा पनि बनाइन्छ, लुटेको भूभाग फिर्ता पनि ल्याइन्छ। तर,घर गई आफैंलाई सोधें।

जसले सीमानामा अलपत्र परेको मेरो नागरिक साथीलाई जोगाउन सक्दैन भने मेरो देशको सीमा जोगाइदिन्छ? जसले खाडीमा अलपत्र परेकोलाई स्वदेश ल्याउन सक्दैन, त्यसले मेरो भूमि ल्याइदिन्छ?

यो संसदमा कहिलेकाही बहस हुन्छ, राष्ट्रियता भनेको माटो हो कि व्यक्ति हो।

मान्छे पनि हो,माटो पनि हो।जसले आफ्नो मान्छे जोगाउन सक्दैन,त्यसले माटो जोगाउन पनि सक्दैन।

जसलाई पसिनाको गन्धले थाहा पाउँदैन, त्यसले माटोको सुगन्ध पनि थाहा पाउँदैन। मान्छे फर्काउने नसक्ने सरकारले भूमि फिर्ता गर्छ भन्ने रत्तिभर पनि विश्वास छैन।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily