काठमाडौं– राष्ट्रिय सभामा सांसद रामनारायण बिडारीले कोरोना भाइरसको संक्रमण फैलाउने कार्यमा सांसद,नेता र सिडिओको भूमिका भएको अरोप लगाएका छन्।
‘सांसद र नेताले गाउँगाउँ घुमेर कोरोना फैलाउने काम गरे भने सिडिओले मनलाग्दी पास वितरण गरेर फैलाए।’
नेकपा सांसद बिडारीले राष्ट्रिय सभा भने, ‘टोलटोलका गुन्डाहरु कसले दिएको पास लिएर कुदेका छन्, सिधा जनता घरभित्र थुनिएका छन्।’ उनले सिडिओले दारु खाँदा र तास खेल्दाका साथीलाई पनि पास बाँडेको आरोप लगाए।
‘नेता, मन्त्री, सांसद धेरै हिँड्नु भएन,’ विशेष समयमा उनले भने, ‘उनीहरुका कारण पनि रोग फैलिएको छ।’
उनले लकडाउनमा सरकार चाहिँ घरमा बस्न नपाउने बताए। ‘लकडाउन र संकटमा सरकार घरमा बस्ने होइन। औषधि ल्याउनुपर्यो, नीति बनाउनुपर्यो, कानुन बनाउनुपर्यो। सरकार बसेर हुँदैन।’
हाल भएको कानुन अपर्याप्त भएको उनले बताए। विभिन्न स्थानीय तह र सिडिओबाट आफू अनुसार आदेश जारी भएकाले अब कानुन बनाउनुपर्ने आवश्यकता भएको उनले बताए।
‘सदन चलिरहेको छ कानुनी किन नबनाउने, विपक्षीले पनि मानिहाल्छ, कानुन बनाउनेतिर लागौं, उनले भने, ‘व्यापारी, कानुन र अदालतमा पनि समस्या परेकाले अब सम्बोधन गर्नतिर लागौं।’
भारत र नेपालको सीमा विवाद अहिले उच्च विन्दुमा पुगेको उनले बताए। यो संवेदनशील कुरा भएको भन्दै सचेत भएर छिटोभन्दा छिटो कुटनीतिक रुपमा सुल्झाउनुपर्ने बताए।
इपिजी प्रतिवेदन नबुझने तर सीमा नेपालको भाग मिचेर सडक बनाउने कुरा हुन नसक्ने उनले बताए। गाउँगाउँ पुगेर सरकारले तरकारी उठाएर बिक्री गर्ने व्यवस्था मिलाउन बिडारीले माग गरे।
प्रतिक्रिया