काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारका पछिल्ला गतिविधिबाट त्रासदी बढेको बताएका छन्।
उनले नेपाल उद्योग परिसंघले गरेको कार्यक्रममा भट्टराईले भारतसँग सुमधुर सम्बन्ध बनाएर जानुपर्नेमा सरकारका गतिविधले त्रासदी बढाएको बताए।
सरकारको नेतृत्व गरिरहेका व्यक्तिहरुबाट कोभिड- १९ को त्रासदीको बीचमा राजनीतिक कोभिडको त्रास पनि बढेको भट्टराईले आरोप लगाए।
नेपालले चीन र भारत दुवै मुलुकसँग राम्रो सम्बन्ध कायम गर्न सक्ने अवस्थामा पनि भारतसँगको सीमा विवादको विषय झिकेर त्रासदी थप्ने काम गरेको उनको भनाइ छ।
‘केही समययताका हाम्रा गतिविधिहरु, हाम्रो सरकारको नेतृत्व गरिराखेका व्यक्तिहरुको क्रियाकलापले त्यो अवसरलाई झन् घुमाउने र झन त्रासदी सिर्जना गर्ने काम भएको छ।,’ उनले भने।
भट्टराईले अहिलेको युगमा सरकारको नेतृत्व गर्नेहरुबाट साँघुरो र संकीर्ण चिन्तर देखाइएको पनि बताए।
‘मेरो कसैप्रति आग्रह पूर्वाग्रह र आक्षेप लगाउने मनाशाय होइन। तर अहिले ग्लोबलाइजेसन (वैश्विक) ढंगले सोच्ने भन्दापनि कतिपय देशका शासकहरु न्यारो नेसनालिजमतिर जान खोजिराखेका छन।,’ उनले भने, ‘त्यसको प्रभाव हाम्रै देशभित्र पनि देखिन थालिसकेको छ। देशको जटिल भू-राजनीति र प्रचुर सम्भावना भएको अवस्थामा त्यस्तो साँघुरो र संकीर्ण चिन्तन लिनुहुँदैन।’
कोरोनाको प्रभाव तत्काल समाधान गर्न नसक्ने भन्दै उनले कोरोनापछिको अर्थतन्त्र पुनर्संरचनामा भूमिका निर्वाह गर्न भने सक्ने उल्लेख गरे।
‘त्यसैले ग्लोबलाइज्ड ढंगले सोच्ने र नेपालको भू-राजनीतिक जटिलतासँगसँगै अवसरलाई पनि हेर्नुपर्छ। भू-राजनीतिक जटिलताका बारेमा त हामी केही भन्न सक्दैनौं यो प्रकृति र इतिहासबाट प्राप्त चीज हो। तर अवसर के हो भने भारत र चीनसँगका राम्रो सम्बन्ध बनाउन सक्यौं भने उनीहरु दुवै देशको गतिशील पुल बन्न सक्छौं,’ उनले भने।
कृषिको प्रतिस्पर्धी क्षमता कम भएको भन्दै उनले यस्तो अवस्थामा बजार विस्तारका लागि भारतसँग राम्रो सम्बन्ध कायम गर्नुपर्ने बताए।
१० वर्षअघि भारतसँग आफूले बिप्पा सम्झौता गरेको भन्दै उनले चीनसँग गर्न नसकेकोमा कमजोरी भएको बताए।
‘त्यही बेला मैले भनेअनुसार चीनलगायत अरु मुलुकसँग पनि गर्न सकेको भए र छिमेकीसँग अनावश्यक पाखुरा नसुर्क्याएको भए नेपालले लाभ लिन सक्थ्यो,’ उनले भने।
ठूला पूर्वाधारका आयोजना बनाउँदा पनि नेपालले भारत र चीनसँगको सम्बन्ध राम्रो राख्नुपर्ने उनले बताए।
‘यतिबेला भ्यालुचेन खल्बलिएर लगानीकर्ताहरु विभिन्न ठाउँमा छरिएका छन्। हामीले अलिकति तरिका पुर्याउन सक्यौं भने ती लगानीकर्तालाई नेपाल ल्याउन सक्छौं। त्यसका लागि भारतसँगको सम्बन्धलाई महत्वका साथ सुधार गरेर जानैपर्छ’ उनले भने।
प्रतिक्रिया