काठमाडौं- भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले देशभरका गुठीका जग्गा असुरक्षित रहेको बताएकी छन् ।
आइतबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्री अर्यालले गुठीको जग्गालाई राज्यले सुरक्षा गर्न नसकेको बताएकी हुन् ।
गुठी जग्गाको सुरक्षा गर्न विधेयक ल्याए पनि अगाडि बढाउन नसक्दा अतिक्रमण बढेको उनको भनाइ छ ।
‘गुठीको जग्गाहरू खास राज्यले समेत नियन्त्रण गर्न सकिरहेको छैन । हामी आइसकेपछि आफ्नो ढङ्गले लागेका छौं । सिधै हस्तक्षेप गरेर राज्यले उपयोग गर्न पाउने खालको अवस्था छैन’ उनले भनिन् ‘अरू सरकारी, सार्वजनिक जग्गामा राज्यले सिधै हस्तक्षेप गर्छ, गुठीमा हाम्रा पूर्खाहरूले, हाम्रा पूर्वजहरूले परोपकारी भावनाले दान गरे । अहिले पूरै क्षयीकरण, व्यक्तिहरूले आफ्नो बनाउने, अतिक्रमण गर्ने काम भएको छ ।’
समितिले आइतबार पशुपति क्षेत्रको गुठीबारे छलफल गर्न मन्त्री अर्याललाई बोलाएको थियो ।
त्यस क्रममा उनले बाँकेको वागेश्वरी, दाङको स्वर्गद्वारी र जनकपुरमा पनि गुठी जग्गा असुरक्षित रहेको बताइन् ।
ती कतिपय गुठीमा किसानको हक स्थापित गर्नुपर्ने र कतिपय गुठी अतिक्रमणबाट जोगाउनुपर्ने मन्त्री अर्यालको भनाइ छ।
‘धर्म संस्कृतिको रक्षा गर्ने, गुठीको जग्गाको संरक्षण गर्ने, गुठीमा जोडिएका किसानहरूको हकलाई स्थापित गर्ने । यो तीनवटै चिजलाई व्यवस्थित गर्न गुठी विधेयक ल्याएका थियौं तर त्यो गुठी विधेयक अगाडि बढाउन सकिएन’ उनले भनिन् ।
कतिपय गुठीमा पर्यटन मन्त्रालय, भूमि व्यवस्था र गृह मन्त्रालयसमेत जोडिएकाले यस्ता विवाद समाधान गर्न कानुनी व्यवस्था नै हुनुपर्ने मन्त्री अर्यालले बताइन् ।
प्रतिक्रिया