+
Search

ताजा अपडेट +

पपुलर +

सामागाउँ र रुही गाउँबारे परराष्ट्रमन्त्रीले भनेः जबर्जस्ती कतैबाट अतिक्रमण भएको होइन [भिडियाे]

4KNationalDaily
२०७७ असार १६, मंगलवार ०८:३४ बजे

काठमाडाैं- परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले  सामागाउँ र रुही गाउँ जबर्जस्ती कतैबाट अतिक्रमण नभएको बताएका छन् ।

राष्ट्रियसभामा समसामायिक विषयमा बाेल्दै मन्त्री ज्ञवालीले उत्तरी गाेरखाकाे  सामागाउँ र रूहि गाउँमा जबर्जस्ती कतैबाट अतिक्रमण नभएको बताएका हुन् ।

मन्त्री ज्ञवालीले सीमाङ्कन हुनुभन्दा अगाडिको समयमा नै साम्दो गाउँ र रुई गाउँका स्थानीयले लेक बेसी गर्ने गरेको उल्लेख गर्दै सीमाङ्कन भएपछि स्थानीयको स्वइच्छाले नै ति गाउँका बासिन्दाहरु चीनतिर गएको बताए ।

 

https://www.facebook.com/egorkhasandesh/videos/199674274694459/

उनले भने ‘साम्दो गाउँ र रुई गाउँमा परम्परादेखि नै औपचारिक सीमाङ्कन भएको अवस्थासम्म लेक बेसी भनेजस्तो खर्क बसाउने चलन थियो । सीमा छुट्याउने कुरा भएपछि सीमा स्तम्भ निर्माण गरेपछि त्यतिबेला एक सय १० घर परिवारलाई तपाईँहरु कतातिर रहने हो भनेपछि ६० ले उतातिर रुई (चीनतिर) र ४० यता (नेपाल) सामागाउँ तिर रहने गरी बसोबास रोजे । पहिलेदेखि रहेका कागजातहरु कायमै रहे पनि त्यसले ठूलो कानुनी झमेला भएन । जबर्जस्ती कतैबाट अतिक्रमण भएको प्रश्न होइन । स्वइच्छाले सीमा तोकेपछि कतातिर बस्ने भनिएको हो ।’

मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रामक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

उनले भने, ’कसरी प्रायोजित ढङ्गले समाचारहरु आए ? दुई देशको सम्बन्धलाई गम्भीर प्रभाव पार्ने यस्ता खालका फेक न्युजहरु कसरी कुन कारखानाबाट आए ? कसरी सर्कुलेट भए ? भन्ने कुराहरु गम्भीर रुपमा लिएका छौँ । त्यो ’सो कल्ड’ प्रतिवेदन कहाँ उत्पादन भयो भन्ने कुराको खोजी गरिरहेका छौँ । तथाकथित स्रोतसँग सम्बन्धित व्यक्तिलाई कानुनी कारबाहीमा ल्याउने छौँ ।’

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily