काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर स्थायी कमिटी सदस्यहरूसँग परामर्श थालेका छन् ।
यसअघि उनलाई साथ दिँदै आएका गृहमन्त्री रामबहादुर थापाले समेत उनको साथ छोडेपछि प्रधानमन्त्री ओली अझै अप्ठेरोमा परेपछि थप परामर्श थालेका हुन्।
बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु ललितपुरको एक होटेलमा छलफलमा बसेका थिए।
सो बैठकमा गृहमन्त्री थापा उपस्थित भएर ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएको एक नेताले जानकारी दिए।
‘पार्टी बिधि र पद्धतिमा चलाउनुपर्ने भएपनि प्रधानमन्त्रीबाट त्यो भएन, सरकारलाई समाजवादउन्मुख ढंगबाट अगाडी बढाउनुपर्ने त्यो बाटोमा गएको देखिएन,’ भेलामा थापाले राखेकाे भनाई उद्धृत गर्दै एक नेताले भने, ‘समाजवादको बाटोमा जान सकेका छैनौं, क्रान्तिबाट ल्याएको सफलता प्रतिक्रान्तिको बाटोतिर जाने खतरा बढेको छ, त्यो प्रधानमन्त्रीकै कारण भएको हो, अब यसरी हुँदैन।’
स्थायी कमिटीका सदस्यहरूले पार्टी एकताको भावना अनुसार दुई अध्यक्षले स्थायी कमिटीमा उठेका विषयलाई सचिवालयमा ल्याएर साझा धारणा र प्रस्ताव बनाउन सुझाव दिएका छन् ।
त्यसका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले ज्यादा पहलकदमी लिनुपर्ने सुझाव सदस्यहरूले दिएका छन् ।
प्रतिक्रिया