काठमाडौं- नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्मी क्षेत्रबारे जे जति कुराको खुलासा गरेकी छिन् त्यसबारे ढिलो मुख खोलेको भन्नेहरुलाई जवाफ दिएकी छिन् । आफूले त्यस्तो रहरले नभई बाध्यताले गर्नुपरेको पाि बताइन् ।
बुधबार बेलुका आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो पोस्ट गर्दै आफूलाई धेरैले किन त्यति बेला नै मुख नखोलेको र किन ढिलो बोलेको भनेर प्रश्न सोधिरहेको बताइन् ।
यसबारे जानकारी दिँदै उनले भनिन्, ‘म पागल छु ? यति ढिलो बोल्न ? मैले पहिले नै यसबारे बोल्न खोज्दा मलाई धेरैजनाले रोक्नुभयो । एउटा अन्तरवार्तामा मैले यसबारे थोरै कुरा कोट्याउँदा पनि मेरो संघर्षलाई घुमाएर मलाई नै नराम्रो बनाउन खोजियो । थुप्रै नचाहिँदो समाचारहरु आए । त्यो कुराले मेरो परिवारलाई असाध्यै नराम्रो लागेको थियो ।’
यसबारे उनले थपिन्, ‘उहाँहरुलाई नराम्रो यसकारण लाग्यो किनभने उहाँहरुलाई सही कुरामा पनि यति धेरै ‘पावर र पोलिटिक्स’ चल्ने कुरा र साँचो कुरालाई तोडमाड गरेर आफैंलाई नराम्रो बनाइने कुरा थाहा भयो । उहाँहरु दुःखी हुनुहुन्थ्यो । त्यसपछि उहाँहरुले नै यस्तो कुरा छोड्न भन्नुभयो ।’
उनले आफूलाई यस्ता कुराहरु लुकाउन मन नलाग्ने बताउँदै यसबारे झन् बोल्न मन लाग्ने पनि बताइन् । तर आफ्नो परिवार नै दुःखी भएका बेला, उहाँहरु र आफ्नै लागि भएपनि चुप लागेर बस्नु परेको उनले बताइन् ।
यसबारे उनी थप्छिन्, ‘एक त बच्चा थिएँ, मैले सही कुरा गर्दा पनि मान्यता दिँइदैन रहेछ भन्ने कुरा मेरो दिमागमा सेट भयो ।’
प्रतिक्रिया