काठमाडौं- कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको अन्त्येष्टि गर्ने क्रममा: स्थानीय बासिन्दाहरूको विरोध हुने गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अवरोध नगर्न आग्रह गरेको छ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट कोरोना नसर्ने भन्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आफ्नै रिति रिवाज अनुसार शव अन्त्येष्टि गर्न सकिने पनि बताए।
‘कोरोना संक्रमितको शव जमिनमा खाल्डो खनेर गाड्ने, जलाउने वा अन्य तरिकाले आफ्नै रितिरिवाजअनुसार व्यवस्थापन गर्न सकिन्छ,’ डाक्टर गौतमले भने, ‘मृत्यु भइसकेकोले श्वासप्रश्वासलगायत क्रियाकलाप गर्दैन। खोक्ने, हाछ्यु गर्ने र थुकका छिटाबाट कोरोना सर्ने हो जुन कार्य मृत्यु भइसकेकोले गर्दैन।’
उनले शवबाट कोरोना संक्रमण नहुने पनि बताए।
गाेरखामा शनिवार ज्यान गुमाएका पालुङटार–७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
स्थानियले ढुङ्गा प्रहार गर्दा ४ प्रहरी घाईते भएका छन् । शब ब्यवस्थापन स्थल लुदी दोभान क्षेत्र स्थानिय र प्रहरी बिच भएको भिडन्तका कारण केही बेर रणमैदान जस्तै बनेको थियो ।
पालुङटार नगरपालिका–७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहान उपचारको क्रममा गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । उनको शव अहिले पनि अस्पतालमा नै छ ।
प्रतिक्रिया