+
Search

ताजा अपडेट +

पपुलर +

खतरातर्फ नदीको सतह, ३ दिन यी नदीमा उच्च बहाव

4KNationalDaily
२०७७ असार २७, शनिबार ०९:२५ बजे

काठमाडौं- देशभर मनसुनी वर्षा हुने क्रमसँगै केही क्षेत्रमा निरन्तर वर्षा हुँदा ठूला तथा साना नदीमा बाढी आउन थालेको छ ।

कतिपय ठाउँमा बाढी र तराईका भूभागमा बाढीसँगै डुबानले जलमग्न बनाउन थालेको छ । पहाडी तथा मध्यपहाडी क्षेत्रमा बाढी र पहिरोले जनधनको क्षति पुर्‍याएको छ ।

विगत २४ घण्टामा कास्कीस्थित वर्षा मापन केन्द्रमा अत्यधिक २५०.९ मिलिमिटर वर्षा भएको छ । अन्य दुई केन्द्रमा २०० मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै दरबाङ स्टेसनमा १५०.६, खुदी बजारमा १४९.४, स्याङ्जामा १४८.६, बर्दघाटमा १५०.८ र बेसीसहरमा १६९.४ मिलिमिटर वर्षा भएको छ ।

वर्षा बढेसँगै नदीको सतह उर्लंदो छ । सप्तकोसीमा बाढी बढेपछि भारततर्फका ३८ ढोका खोलिएका छन् ।

कोसीको बाढीले सतर्कता तह पार गर्दै खतराको तहतर्फ बढ्दै गरेको बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलले बताए ।

कोसीको जल सतह शुक्रबार दिउँसो ६.२३ मिटरमाथि पुगेको छ । ७ मिटर यसको खतराको तह हो ।

चितवनको नारायणी नदीमा पनि बहाव बढ्दै गएको छ । नारायणीको बाढीले सतर्कताको तह पार गरेर खतरातर्फ अगाडि बढेको छ ।

नारायणगढस्थित स्टेसनका अनुसार ११ मिटरको सतर्कता तह पार गरेर ११.१३ मिटरमाथि नारायणीको भेल बगिरहेको छ । नारायणीकै देवघाटस्थित स्टेसनमा सतर्कता तह पार गरेर ७.६८ मिटरमाथि बहाव भइरहेको छ ।

अबका ३ दिन कन्काई, कमला, कोसी, कमला, वाग्मती, लालबकैया, नारायणी लगायतका नदीमा उच्च बहाव हुने भएकाले तटीय क्षेत्रमा सतर्क हुन भनिएको छ ।

कञ्चनपुरको शान्तिपुर बेलौरी, नवलपरासीको डण्डा, परासी बर्दघाट, चितवनको माडी, लमजुङको बेसीसहर क्षेत्रमा भारी वर्षा भएकाले सतर्क रहन एसएमएस पठाई स्थानीयवासीलाई सुरक्षित रहन भनिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily