काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय कमिटी बैठक समापन भएको छ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न बसेको सचिवालय बैठकमा पनि सममति जुटन सकेन।
शनिबार दिउँसो सवा तीन बजेबाट बसेको सचिवालय बैठकमा पनि कुनै सहमति जुट्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले बैठकमा पार्टीको आन्तरिक विवाद कसरी हल गर्ने भन्ने विषयमा छलफल गरेको बताए।
उनले सचिवालय बैठकमा पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने र जनादेश बमोजिम काम गर्ने गरी थप छलफल गर्ने सहमति भएको बताए।
प्रवक्ता श्रेष्ठले आइतबारका लागि बोलाइएको स्थायी समितिको बैठक तोकिएकै समयमा बस्ने सहमति भएको बताए।
‘पार्टीभित्र देखिएका विभिन्न समस्याका बारेमा छलफल भयो’, प्रवक्ता श्रेष्ठले भने, ‘कुनै ठोस् सहमतिमा पुगिएको छैन, भोलि स्थायी समितिको बैठक तोकिएकै समयमा बस्छ।’
पार्टीभित्र रहेका तीव्र विवादका बीच भएको बैठकमा पार्टीको पछिल्लो विवादबारे छलफल भएको बताइएको छ।
पार्टीको आन्तरिक विवादका कारण केही दिनदेखि पार्टी स्थायी कमिटी बैठक स्थगित भइरहेको अवस्थामा सचिवालय बैठक बसेको थियो।
दिउँसो करिब सवा ३ बजेदेखि नेकपा सचिवालय कमिटी बैठक करिब सवा ७ बजेसम्म चलेको थियो।
प्रतिक्रिया