काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन टिम लिभरपुलले चेल्सीमाथि फराकिलो जित निकालेको छ।
बुधबार राति भएको खेलमा घरेलु टिम लिभरपुलले चेल्सीलाई ५-३ गोलअन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा नाबी कोइटा, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, जर्जिनियो विजनाल्डम, रोबर्टो फिर्मिन्हो र एलेक्स चेम्बरलेनले गोल गरे। यता, चेल्सीका लागि ओलिभर जिराउड, टमी अब्राहम र क्रिस्टियन पुलिसिकले गोल फर्काएका थिए।
खेलको २३ औं मिनेटमा कोइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।
खेलको ३८ औं मिनेटमा एलेक्सजेन्डर र ४३ औं मिनेटमा विजनाल्डमले गोल गर्दा लिभरपुल ३–० गोलले अघि रहेको थियो। तर पहिलो हाफको अन्तिम समयमा जिराउडले गोल गर्दै चेल्सीलाई ३–१ गोलको स्थितिमा ल्याए।
खेलको ५४ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ४–१ गोलको अग्रता दिलाए।
यता चेल्सीका लागि भने खेलको ६१ औं मिनेटमा अब्राहम र ७३ औं मिनेटमा पुलिसिकले गोल गर्दै ४–३ को स्थितिमा ल्याए। तर खेलको ८४ औं मिनेटमा चेम्बरलेनले गोल गर्दै लिभरपुललाई ५–३ गोलको जित दिलाए।
यसअघि नै उपाधि जितिसकेको लिभरपुलले ३७ खेलबाट ९६ अंक बनाएको छ। पराजित चेल्सी भने हारसँगै ३७ खेलबाट ६३ अंक बनाउँदै लिगको चौथो स्थानमा झरेको छ।
प्रतिक्रिया